नेपालमा बाढीको पूर्वसूचना अब ‘भ्वाइस कल’ मार्फत

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बाढीसम्बन्धी पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन ‘भ्वाइस कल’ सेवा सुरु गर्ने तयारी गरेको छ। यसअघि एसएमएसमार्फत मात्र सूचना दिने गरिएकोमा अबदेखि फोन गरेरै सर्वसाधारणलाई जानकारी दिने व्यवस्था मिलाइएको हो।

विभागका बाढीविद् विनोद पराजुलीले नेपाल टेलिकमसँगको सहकार्यमा यसै हप्तादेखि यो सेवाको परीक्षण सुरु गरिने बताए। उहाँका अनुसार सबै मानिसहरूले एसएमएस पढ्न वा त्यसको जानकारी पाउन नसक्ने हुनाले भ्वाइस कल सेवा अझ बढी प्रभावकारी हुने विश्वास गरिएको छ।

पहाड र हिमालमा पनि पूर्वसूचना प्रणालीको आवश्यकता
बाढीसम्बन्धी पूर्वसूचना प्रणालीका कारण तराई क्षेत्रमा हुने धनजनको क्षतिमा कमी आएको विभागले जनाएको छ। तर, पराजुलीले तराईका नदीमा मात्र सूचना प्रणाली जडान गरिएको र अब पहाडी तथा हिमाली क्षेत्रमा पनि बाढीका घटना बढ्न थालेकाले ती क्षेत्रमा पनि पूर्वसूचना प्रणालीको विस्तार गर्नुपर्नेमा जोड दिए।

जलवायु तथा विपद् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीले पनि जलवायु परिवर्तनको असरले बाढीको जोखिम तराईमा मात्र सीमित नरहेको र पहाड तथा हिमालमा पनि बढिरहेको बताए ।उनले हिमताल फुट्ने जोखिम बढेकाले त्यस्ता क्षेत्रमा पूर्वसूचना प्रणाली जडान गर्न सकेमा ठूलो क्षतिबाट बच्न सकिने उल्लेख गरे। भ्वाइस कल सेवाले यस्तो अवस्थामा अझ प्रभावकारी रूपमा सूचना पुर्‍याउन मद्दत गर्ने उनको भनाइ छ।

 

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *