आज कुशे औँशी, बुबाको मुख हेर्ने दिन
काठमाडौं । आज भाद्र कृष्ण औँशी अर्थात् कुशे औँशी, बुबाको मुख हेर्ने दिन नेपालभर मनाइँदैछ।
यस दिनलाई पिताको सम्मान र कृतज्ञता प्रकट गर्ने दिनका रूपमा लिइन्छ। परम्पराअनुसार विहानै नजिकैको खोलानाला वा तीर्थस्थलमा स्नान गरी शुद्ध भएर कुश राख्ने प्रचलन छ। यसै दिन पितृहरूको सम्झनामा श्राद्ध गर्ने र दिवंगत आत्माको चिरशान्तिका लागि दान–पुण्य गर्ने चलन पनि रहेको छ।
बुबा जीवित रहेका सन्तानले फलफूल, मिठाइ वा अन्य प्रिय वस्तु अर्पण गरी आशीर्वाद लिने परम्परा छ। यस अवसरमा बुबा दिवंगत भएका व्यक्तिहरूले गोकर्णेश्वर, बाग्मती किनार, बुटवलको देवदह, हलेसी लगायतका तीर्थस्थलमा गएर पितृ तर्पण गर्ने गर्दछन्।
कुशे औँशीलाई “पितृऔँशी” वा “पितृ दिवस” पनि भनिन्छ। समाजका धार्मिक तथा सांस्कृतिक विद्वान्हरूका अनुसार यो दिनलाई सन्तानले आफ्नो कर्तव्य सम्झिने अवसरका रूपमा लिनुपर्नेमा जोड दिइन्छ।
Facebook Comment