आज कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज दिउँसो देशका केही प्रदेशमा भारी वर्षा हुने चेतावनी दिएको छ ।

विभागले आज बिहान जारी गरेको बुलेटिनअनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी प्रदेशको तराई र पहाडी भूभागका थोरै स्थानमा भारी वर्षा हुने सम्भावना छ । अन्य स्थानमा भने सामान्यदेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ ।

आज राति पनि देशका पहाडी भूभागका केही स्थान र तराईका थोरै भागमा मध्यम वर्षा हुने सम्भावना छ । साथै गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ ।

विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमै अवस्थित छ, जसका कारण देशभर वर्षा सक्रिय भएको हो ।

गएराति सुर्खेत, पश्चिम रुकुम, पर्वत, कास्की, लमजुङ, सिन्धुपाल्चोक, काठमाडौं, धनकुटा लगायतका स्थानमा मध्यमदेखि भारी वर्षा भएको थियो । काठमाडौंको गौरीघाट जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेपछि विभागले जोखिम क्षेत्रमा रहेका बासिन्दालाई मोबाइल एसएमएसमार्फत सतर्क रहन आग्रह गरेको थियो ।

यस्तै रुपन्देहीस्थित लुम्बिनी वर्षामापन केन्द्रमा समेत भारी वर्षा मापन भएपछि त्यहाँका साना खोलाहरूमा बहाव बढ्न सक्ने भन्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन अपील गरिएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *