टप एन्ड टी-२० : नेपाल आज पाकिस्तान शाहीन्ससँग अन्तिम लिग खेलमा भिड्दै
काठमाडौं । अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले आफ्नो अन्तिम लिग खेलमा आज पाकिस्तान शाहीन्ससँग प्रतिस्पर्धा गर्ने भएको छ ।
डार्विनस्थित मरारा क्रिकेट ग्राउण्ड–२ मा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ ।
नेपालले अहिलेसम्म खेलेका पाँच खेलमध्ये दुईमा जित र तीनमा हार व्यहोरेको छ । पहिलो तीन खेलमा लगातार पराजित भएको नेपालले पछिल्ला दुई खेलमा भने लगातार जित निकाल्दै आत्मविश्वास बढाएको हो ।
नेपाल पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले, दोस्रो खेलमा बंगलादेश ‘ए’सँग ३२ रनले र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो । तर मंगलबार चौथो खेलमा होबार्टलाई ६६ रनले हराएको नेपालले बुधबार मेलबर्न रेनेगेड्समाथि ३३ रनको जित हात पारेको थियो ।
पाकिस्तान शाहीन्सले भने पाँच खेलमा तीन जित हासिल गर्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
११ टोली सहभागी सिरिजमा सबैले ६–६ लिग खेल खेल्नेछन् । शीर्ष चार टोली मात्र सेमिफाइनलमा पुग्ने भएकाले नेपाललाई पाकिस्तानविरुद्ध अनिवार्य जित आवश्यक छ । त्यसमाथि ठूलो अन्तरले जित्नुपर्ने र अन्य खेलका नतिजा पनि आफ्नो पक्षमा आउनुपर्नेछ ।
नेपाल हाल ५ खेलमा ४ अंकसहित सातौँ स्थानमा छ भने पाकिस्तान ६ अंकसहित दोस्रो स्थानमा छ ।
Facebook Comment