युक्रेन युद्ध अन्त्य गराए ‘स्वर्ग’ जाने ट्रम्पको भनाइ

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन र रुसबीच शान्ति सम्झौता गराउन सके आफू स्वर्ग जाने सम्भावना बढ्ने बताएका छन्। उनले अमेरिकी टेलिभिजन च्यानलसँगको कुराकानीमा ठट्यौली शैलीमा यो कुरा व्यक्त गरेका हुन्।

ट्रम्पले भने, “म स्वर्ग जान कोसिस गरिरहेको छु। मैले सुनेको छु, मेरो अवस्था राम्रो छैन, म तलैतिर छु। तर यदि मैले यो काम गर्न सकेँ भने, सायद मलाई स्वर्गको बाटो प्राप्त होला।”

यसअघि पनि ट्रम्पले आफूले युक्रेन युद्ध अन्त्य गराउन चाहेको र त्यसका लागि नोबेल शान्ति पुरस्कार पाउनुपर्ने बताएका थिए। उनले शान्ति सम्झौताको पहल आफ्नो राजनीतिक र व्यक्तिगत जीवनमा पनि ऐतिहासिक हुने विश्वास व्यक्त गरेका छन्।

ट्रम्प र उनको धार्मिक झुकाव

विवादित जीवनशैलीका कारण प्रायः आलोचनाको सामना गर्ने ट्रम्पको धार्मिक झुकाव हालैका वर्षहरूमा बढेको देखिन्छ। गत वर्ष हत्या प्रयासबाट बचेपछि उनको आस्था थप गहिरिएको मानिन्छ। उनले आधिकारिक रूपमा पाउला ह्वाइटलाई आफ्नो आध्यात्मिक सल्लाहकार नियुक्त गरेका छन्।

ट्रम्पकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले ट्रम्पको भनाइको बचाउ गर्दै भनेकी छन्, “मलाई लाग्छ, राष्ट्रपति यो विषयमा गम्भीर छन्। उनी साँच्चै स्वर्ग जान चाहन्छन्, जसरी हामी सबै चाहन्छौँ।”




Leave a Reply

Your email address will not be published. Required fields are marked *