टी-२० सिरिज: नेपालको मेलबर्नमाथि ३३ रनको जित
काठमाडौं । अष्ट्रेलियाको नर्दन टेरिटोरीमा भइरहेको टप एन्ड टी-२० सिरिजमा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले हराएको छ। यो नेपालको प्रतियोगितामा लगातार दोस्रो जित हो।
डार्विनको काजालिस एरेनामा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको थियो। नेपालका लागि कुशल मल्लले सर्वाधिक २९ रनको योगदान दिए। उनलाई दीपेन्द्रसिंह ऐरीले २७ रन र लोकेश बमले २४ रन बनाएर साथ दिएका थिए। मेलबर्नका फर्गस ओनिल, लचलान बाङ्स, क्यालम स्टो र माइकल आर्चरले समान २-२ विकेट लिए।
१४० रनको लक्ष्य पछ्याएको मेलबर्नको टोली २० ओभरमा १०६ रनमा अलआउट भयो। मेलबर्नका लागि अर्जुन नायरले सर्वाधिक २६ रन बनाए।
नेपालको जितमा सोमपाल कामीको बलिङ उत्कृष्ट रह्यो। उनले ४ ओभरमा १७ रन खर्चेर ५ विकेट लिए। यसबाहेक, कुशल भुर्तेलले २ विकेट तथा शहाब आलम र रुपेश सिंहले १-१ विकेट लिए।
यो जितपछि नेपालले ५ खेलबाट ४ अंक जोडेको छ। यसअघि नेपालले हाबार्ट हेरिकेन्सलाई ६६ रनले पराजित गरेको थियो।
Facebook Comment