आपराधिक पृष्ठभूमिका राजु गोर्खाली १० करोडको चेक बाउन्समा समातिए

काठमाडौं । १० करोड रुपैयाँ बराबरको चेक बाउन्सको आरोपमा राजु गोर्खाली (राजेन्द्रबहादुर गोर्खाली) लाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले उनलाई सोमबार चन्द्रागिरीबाट नियन्त्रणमा लिएको हो।

गोर्खालीलाई थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले ५ दिन हिरासतमा राख्ने अनुमति दिएको छ। प्रहरीका अनुसार, उनले कुन प्रयोजनका लागि उक्त रकमको लेनदेन गरेका थिए भन्ने विषयमा अनुसन्धान भइरहेको छ।

आपराधिक पृष्ठभूमिको इतिहास

गोर्खालीको पृष्ठभूमि पुरानै छ। २०५८ सालमा सुन्धारास्थित बेबी लोन डिस्कोमा रोशन लिम्बुको हत्या गरेको अभियोगमा उनले १० वर्ष कैद भुक्तान गरिसकेका छन्। उक्त हत्यामा लिम्बुलाई तरवार प्रहार गरिएको थियो।

कारागारबाट छुटेपछि पनि उनी विभिन्न कसुरमा पटक-पटक पक्राउ पर्दै आएका छन्। यसअघि उनी हातहतियार, लेनदेन र गुन्डागर्दीसम्बन्धी कसुरमा पनि पक्राउ परिसकेका छन्।

राजनीतिक रूपमा पनि उनी चर्चामा आएका थिए। २०७९ सालको प्रतिनिधिसभा चुनावमा उनी सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसको उम्मेदवारका लागि सिफारिसमा परे पनि उनले टिकट भने पाएनन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *