टप इन्ड टी-२० सिरिज : हारको शृंखला तोड्न सकेन नेपाल, मेलवर्नसँग पनि हार्यो
काठमाडौं । अस्ट्रेलियामा जारी टप इन्ड टी-२० सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार तेस्रो हार व्यहोरेको छ । सोमबार भएको तेस्रो खेलमा नेपाल मेलबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भयो ।
मेलबर्नको ब्याटिङ
अस्ट्रेलियाको डार्विनस्थित टीआइओ स्टेडियममा टस जितेर ब्याटिङ गरेको मेलबर्नले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७५ रनको योगफल तयार पारेको थियो । मेलबर्नका लागि ब्लेक म्याकडोनाल्डले सर्वाधिक ७४ रन र थोमस रोजर्सले ६५ रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए भने सोमपाल कामी र शाहब आलमले एक-एक विकेट लिए ।
नेपालको ब्याटिङ
१७६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेटको क्षतिमा १४४ रन मात्र बनाउन सक्यो । नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ५३ रन बनाए । उनले ४९ बलमा ३ चौका र १ छक्का प्रहार गरे । कुशल भुर्तेलले २५ रन र कप्तान रोहित पौडेलले ३३ रन बनाए पनि अन्य ब्याट्सम्यानले खासै राम्रो प्रदर्शन गर्न सकेनन् ।
यसअघि नेपाल सिरिजको पहिलो खेलमा एनटीएसँग ४२ रनले र दोस्रो खेलमा बंगलादेश ‘ए’ टोलीसँग ३२ रनले पराजित भएको थियो ।
Facebook Comment