म एमालेमै छु, आलोचनाबाट डराउँदिनँ-पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू अझै पनि नेकपा एमालेको कार्यकर्ता रहेको बताएकी छन् । उनले विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै आफूलाई पार्टीले नै राष्ट्रपति बनाएको र अहिले पनि एमालेमै रहेको स्पष्ट पारिन् ।

भण्डारीले ४५ वर्षदेखि आफू नेकपा एमालेको संगठित सदस्य रहेको बताइन् । यद्यपि, एमालेले भने उनको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेको छ । यस विषयमा आफूलाई कुनै जानकारी नभएको उनले दाबी गरिन् ।

आलोचनालाई स्वाभाविक रूपमा लिएको बताउँदै भण्डारीले राष्ट्रपति पदबाट हटेपछि आफू एमालेको राजनीतिमा फर्किएको जानकारी दिइन् । उनले राजतन्त्र र गणतन्त्रबीचको भिन्नताबारे पनि कुरा गर्दै राजतन्त्रमा राजा व्यक्ति हुने तर गणतन्त्रमा राष्ट्रपति पद मात्र हुने धारणा राखिन् । राष्ट्रपति पद आवधिक हुने र कार्यकाल सकिएपछि जोकोही पनि आफ्नो काममा फर्कन सक्ने उनले बताइन् ।

पूर्वराष्ट्रपति भण्डारीले नेताहरूसँगको भेटघाटलाई सामान्य रूपमा लिनुपर्ने बताइन् । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँगको भेटमा सामान्य छलफल मात्र भएको उनको भनाइ छ ।

यसका साथै, उनले तत्काल वाम एकताको बलियो आधार नभए पनि यो असम्भव भने नरहेको विचार व्यक्त गरिन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *