चाडपर्वका लागि घटस्थापनाअघि नै टिकट बुकिङ खुल्ने, भाडादर पनि बढ्न सक्ने
काठमाडौं । यस वर्षको दशैंका लागि घटस्थापनाभन्दा १५ दिनअघि नै लामो दूरीका बसको टिकट बुकिङ खुल्ने भएको छ। भौतिक पूर्वाधार विकास समितिको बैठकमा यातायात व्यवस्था विभागका निर्देशक नरहरी तिवारीले लाखौं यात्रुको चापलाई ध्यानमा राख्दै छिट्टै बुकिङको मिति तय गरिने जानकारी दिएका हुन्।
विभागले बसपार्कमा हुने भीडभाड कम गर्न यसपालि अनलाइन टिकट प्रणालीलाई प्राथमिकता दिने बताएको छ। यसका साथै, भाडा समायोजनका लागि पनि तयारी भइरहेको निर्देशक तिवारीले जानकारी दिए। यातायात व्यवसायीहरूको मुख्य माग नै भाडा बढाउनुपर्ने रहेको र इन्धन, पार्टपुर्जा, टायरजस्ता खर्चलाई आधार मानेर भाद्र महिनामा भाडादर समायोजन गर्ने प्रक्रिया अघि बढेको उनले बताए।
दशैंको यात्रालाई सुरक्षित र व्यवस्थित बनाउन यातायात व्यवस्था विभागले यातायात व्यवसायी महासङ्घ, ट्राफिक प्रहरी, सडक विभाग र स्थानीय प्रशासनसँग मिलेर काम गर्नेछ। सडकको अवस्था, सुरक्षा, र अनुगमनका लागि यी निकायहरूसँग निरन्तर समन्वय गरिने भएको छ।
यात्रुको चाप बढेमा गत वर्षजस्तै यसपालि पनि निजी विद्यालयका बस र साझा यातायातका बसहरूलाई समेत सञ्चालन गर्न अनुरोध गरिने बताइएको छ। साथै, सडकको अवस्थाबारे तत्काल जानकारी आदानप्रदान गर्न बनाइएको ‘ह्वाट्सएप ग्रुप’ यस वर्ष पनि प्रभावकारी बनाइनेछ।
Facebook Comment