नेपाली विद्यार्थीको रिहाइका लागि इजरायलमा उच्चस्तरीय भेटघाट
काठमाडौं । नेपाली विद्यार्थी बिपिन जोशीलाई हमासले बन्धक बनाएको घटनालाई लिएर उनकी आमा र बहिनीले इजरायलमा उच्चस्तरीय भेटघाट गरेका छन्।
उनीहरूले बिपिनको शीघ्र रिहाइका लागि इजरायली राष्ट्रपति आइज्याक हर्जोग र संसद्का अध्यक्ष अमिर ओहानासँग भेटेर पहल गरिदिन आग्रह गरेका हुन्।
राष्ट्रपतिसँग भेट
बिपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले जेरुसेलममा राष्ट्रपति हर्जोगलाई भेटेका छन्। यस भेटमा इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित पनि सहभागी थिए।
आमा पद्माले आफ्नो छोरा निर्दोष विद्यार्थी भएकोले मानवीय आधारमा रिहाइका लागि अनुरोध गरिन्।
बहिनी पुष्पाले पनि अन्तर्राष्ट्रिय स्तरमा थप पहल गर्न आग्रह गरिन्।
राजदूत पण्डितले बिपिनको अवस्थाबारे निरन्तर ध्यान दिन आग्रह गरे।
जवाफमा राष्ट्रपति हर्जोगले बिपिनलाई इजरायलले आफ्नै नागरिकसरह मानेको र उनको रिहाइका लागि इजरायली सरकार निरन्तर प्रयासरत रहेको बताए। उनले नेपाल सरकारले पनि सम्बन्धित अरब राष्ट्रहरूसँग कुराकानी गरेमा यस विषयमा थप प्रगति हुन सक्ने सुझाव दिए।
संसद्का अध्यक्षसँग भेट
राष्ट्रपतिसँगको भेटपछि बिपिनको परिवारले इजरायली संसद्का अध्यक्ष अमिर ओहानासँग पनि भेटवार्ता गरेका छन्। ओहानाले नेपाल र इजरायलबीचको मैत्रीपूर्ण सम्बन्धलाई सम्झँदै बिपिनको रिहाइका लागि आफ्नो सरकारले अधिकतम प्रयास गरिरहेको बताए। उनले हालै जेनेभामा भएको छलफलमा पनि बिपिनको प्रसंग उठेको जानकारी दिए।
यस भेटले बिपिनको रिहाइका लागि थप पहल गर्ने अपेक्षा गरिएको छ।
Facebook Comment