बन्दी बनाइएका विपिनका बुवाको दुखेसो: ‘दुई वर्ष बित्यो, छोराको अवस्थाबारे कुनै जानकारी छैन’

काठमाडौं ।  २०८० असोज २१ गते (अक्टोबर ७, २०२३) मा हमासले इजरायलबाट बन्धक बनाएका कैलालीका विपिन जोशीका परिवारले छोराको अवस्थाबारे कुनै जानकारी नपाएको गुनासो गरेका छन्।

आइतबार धनगढीमा आयोजित एक कार्यक्रममा बोल्दै विपिनका बुवा महानन्द जोशीले छोरा बन्धक बनेपछि आफ्नो परिवारको खुसी, भोक र निद्रा सबै हराएको पीडा पोखे। उनले छोराको अवस्था पत्ता लगाउन प्रधानमन्त्री, मन्त्री र राष्ट्रपतिसम्मलाई भेटे पनि ठोस प्रगति नभएको बताए।

“उहाँहरू पहल गरिरहेको भन्नुहुन्छ,” जोशीले भने, “पहल हुँदै पनि होला, तर सरकारले पटकपटक सोधपुछ गरेको भए केही पत्ता लाग्थ्यो कि।”

सुदूरपश्चिम विश्वविद्यालयको ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिनसहित करिब २ सय ५० जनालाई हमासले बन्धक बनाएको थियो। केही दिनअघि मात्रै विपिनकी आमा र बहिनीलाई इजरायली सरकारले बोलाएपछि उनीहरू त्यसतर्फ गएका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *