राष्ट्रपति पौडेलद्वारा भारतीय विदेश सचिवसँग भेट,उनले भने’भारतको प्रगतिको लाभ लिन चाहन्छौं’
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतको प्रगतिबाट नेपालले लाभ लिइरहेको र भविष्यमा थप लाभान्वित हुन चाहेको बताएका छन्। नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीसँगको शिष्टाचार भेटमा उनले यस्तो धारणा राखेका हुन्।
राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार, पौडेलले भारतको सामाजिक-आर्थिक र प्राविधिक प्रगतिबाट नेपाल खुसी र उत्साहित रहेको बताए। उनले भारतलाई एक उदाउँदो अन्तर्राष्ट्रिय शक्तिको रूपमा हेरेको र निकट छिमेकीको नाताले भारतको प्रगतिबाट नेपालले थप लाभ लिन चाहेको स्पष्ट पारे।
राष्ट्रपतिले नेपाल र भारतबीचको सम्बन्ध शताब्दीयौँ पुरानो रहेको र यो सम्बन्ध सार्वभौमिक समानता, मैत्रीपूर्ण सहयोग, आपसी सम्मान र विश्वासमा आधारित रहेको बताए। उनले ‘छिमेक पहिलो नीति’ को लागि भारत सरकारको प्रशंसा पनि गरे।
यस भेटका क्रममा, भारतीय विदेश सचिव मिस्रीले प्रधानमन्त्री नरेन्द्र मोदीको छिमेकी देशसँगको सम्बन्धलाई प्राथमिकता दिने नीति अनुसार नेपाललाई उच्च प्राथमिकता दिइएको बताए। उनले आफ्नो भ्रमणले दुई देशबीचको प्रगति र विकासका लागि कनेक्टिभिटी बढाउने उपायहरूमाथि छलफल गर्ने अवसर मिलेको र यसले दुई देशको सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे।
दुई दिने नेपाल भ्रमणमा रहेका मिस्रीले आइतबार बिहानै प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति पौडेलसँग छुट्टाछुट्टै शिष्टाचार भेट गरे। भारतीय राजदूतावासका अनुसार, प्रधानमन्त्री ओलीसँगको भेटमा गहिरो सभ्यतागत सम्बन्ध र बलियो साझेदारीमा जोड दिइएको थियो। साथै, विभिन्न क्षेत्रमा सहकार्यलाई अझ सुदृढ गर्ने विषयमा पनि छलफल भएको थियो।
प्रधानमन्त्री ओलीको भदौ अन्तिममा हुने भारत भ्रमणको तयारीका लागि मिस्री नेपाल आएका हुन्। उनले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहालसँग पनि भेट्ने कार्यक्रम छ।
Facebook Comment