कर्तव्यनिष्ठ भएर जनताको सेवामा लाग्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार सुशासन र विकासको दिशामा अग्रसर रहेको बताएका छन्। उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य हासिल गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

मधेस प्रदेश प्रहरी कार्यालयको प्रशासनिक भवन उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले देशलाई सुशासनको बाटोमा लैजान सरकारले निर्बाध रूपमा सेवा-सुविधा उपलब्ध गराउने जिम्मेवारी लिएको उल्लेख गरे।

उनले वर्तमान राजनीतिक व्यवस्थालाई कमजोर पार्न र पुरानो अवस्था फर्काउन केही तत्वहरू लागिपरेको आरोप लगाए। प्रधानमन्त्रीले भने, “जसले देशका लागि योगदान गरेका छैनन्, उनीहरूलाई देशको माया हुँदैन।” उनले नयाँ शक्तिको नाममा भ्रम छर्ने प्रयास भइरहेको पनि बताए।

प्रधानमन्त्रीले मधेस प्रदेश प्रहरीलाई विशेष रूपमा सचेत हुन निर्देशन दिए। उनले भने, प्रहरीले कर्तव्यनिष्ठ भएर जनताको सेवामा लाग्नुपर्छ।

प्रधानमन्त्रीले राजस्व चुहावट नियन्त्रणका क्षेत्रमा काम गर्न भन्दै भन्सारमा राजस्व चुहावट र अवैध चोरी निकासी पैठारी बढ्दो क्रममा रहेकोले यसलाई रोक्न प्रहरीलाई आग्रह गरे।

निर्दोष मानिसहरू फस्ने र फसाइने जस्ता गतिविधि बन्द गर्न निर्देश गर्दै प्रहरी जनताको सेवक भएकाले जनतालाई सेवा दिनुपर्नेमा जोड दिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *