मुलुकका महत्त्वपूर्ण उपलब्धि कांग्रेसले नै संस्थागत गर्छ: सभापति देउवा

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा स्थापित भएका महत्त्वपूर्ण परिवर्तनहरूलाई संस्थागत गर्दै प्रभावकारी रूपमा कार्यान्वयन गर्न आफ्नो पार्टी दृढ रहेको बताएका छन्।

शुक्रबार सानेपामा आयोजित नेपाल राष्ट्रिय मगर संघको तेस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै देउवाले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशिताजस्ता कांग्रेसको नेतृत्वमा प्राप्त उपलब्धिहरूको प्रभावकारी कार्यान्वयनमा कांग्रेस प्रतिबद्ध रहेको बताए।

उनले कांग्रेस सबै जातजाति, भाषाभाषी र क्षेत्रका नागरिकको विश्वासको केन्द्र भएकाले आदिवासी जनजाति, दलित, महिला, मुस्लिम तथा पिछडिएका वर्गको सशक्तीकरणका लागि निरन्तर क्रियाशील रहेको धारणा व्यक्त गरे।

देउवाले मगरलगायत आदिवासी जनजातिको पहिचान र सशक्तीकरणका लागि आफ्नो नेतृत्वको सरकारले ‘आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान’ गठन गरेको स्मरण गर्दै यसलाई बीपी कोइरालाले सुरु गरेको समावेशीकरण अभियानमा थप एक कदम भएको बताए।

साथै, उनले पार्टीभित्रै पनि पछाडि परेका समुदायको प्रतिनिधित्व सुनिश्चित गरी कांग्रेसलाई देशकै सबैभन्दा समावेशी पार्टी बनाएको उल्लेख गरे।

मगर संघको तेस्रो राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै भोलि शनिबार सम्पन्न हुने कार्यक्रम छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *