कोदो दिवस: उत्पादन र उपयोग बढाउन अभियान चलाउँदै पालिका
काठमाडौं । स्याङ्जाको फेदीखोला गाउँपालिकाले कोदो दिवसको अवसरमा विभिन्न प्रवर्द्धनात्क कार्यक्रम सञ्चालन गरेको छ । ‘कोदोजन्य परिकारको आहार: खाद्य सुरक्षा र स्वस्थ जीवको आधार’ भन्ने नाराका साथ कोदाको परिकार प्रदर्शनसहित कोदो रोपण गरिएको छ ।
फेदीखोला गाउँपालिका -१ रामकोटमा शुक्रबार आयोजित कार्यक्रमकाबीच कोदो रोपणका साथै कोदोका बहुउपयोगी परिकार प्रदर्शनी गरिएको पालिका अध्यक्ष धनश्याम सुवेदीले जानकारी दिए ।

उनले भने,‘हामीले कोदोको उत्पादन बढाउने र उपयोग पनि बढाउने नीतिका साथ दिवसको अवसरमा कार्यक्रम सञ्चालन गरेका छौँ । आशावादी छौँ परम्परागत कोदो खेती अब व्यवस्थित रुपले फस्टाउने छ।’
पालिकाले विद्यालयको दिवा खाजामा कोदोको परिकार अनिवार्य गर्ने निर्णयलाई शुक्रबारदेखि नै लागू गरेको छ ।

अध्यक्ष सुवेदीले भने, ‘विद्यालयको दिवा खाजाको साप्ताहिक तालिकामा कोदोको परिकार समावेश गरी विद्यालयमा सञ्चालित चमेना गृहमा हप्ताको एक दिन कोदोको परिकारको खाजा व्यवस्थापन अनिवार्य गरेका छौँ । यो आजैदेखि लागू भएको छ ।
पालिका र जिल्लामा सञ्चालित होटल, रेस्टुरेन्टलगायतमा पनि अब कोदोको परिकारको उपस्थितिलाई बढाउने गरी काम गर्छौँ ।’
पौस्टिक हिसाबले महत्वपूर्ण, खेती गर्न सजिलो तथा बजारमा माग पनि बढि भएकाले किसानमा कोदो खेतीको आकर्षण थपिने पालिकाले विश्वास लिएको छ ।

विद्यालयस्तरबाटै कृषि प्रणालीप्रतिको आकर्षण बढाउने गरी पालिकाले लागू गरेको स्थानीय पाठ्यक्रममा पनि कोदो खेतीको महत्वलाई झल्काउने विषय समावेश गरिएको छ । अहिले फेदीखोला गाउँपालिकाको स्थानीय पाठ्यक्रमको कक्षामा पढाइ हुने ‘हाम्रो फेदीखोला’ पुस्तकमा ‘कोदो: बहुउपयोगी खाद्यान्न’ शीर्षकको पाठ राखिएको छ ।
दिवसको अवसरमा आयोजित कार्यक्रममा कोदो रोपणसँगै कोदोबाट बनेका परिकार, म:म:, ढिडो, रोटी, पुवासहितका परिकार प्रदर्शनीमा राखिएको छ । त्यस्तै पेय पदार्थहरू तोह्ङवा, छ्याङ, तीनपाने पनि प्रदर्शनमा राखिएको छ ।





 
 						 Intro Nepal
Intro Nepal										 
 										 
 										 
 										 
 										 
 										
Facebook Comment