माओवादी स्थायी समितिबाट अन्त्य होला पार्टीको अन्तरकलह ?
काठमाडौं । लामो समयपछि नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आजदेखि सुरु हुँदै छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र पार्टी उपमहासचिव जनार्दन शर्मा(प्रभाकर)बीच फेरि अन्तरकलह जारी रहेको बेला स्थायी कमिटी बैठक बोलाइएको हो।
पार्टी नै फुटको संघारमा पुग्न लागेको चर्चाबीच शुक्रबार दिउँसो १ बजेका लागि प्रचण्डले स्थायी कमिटीको बैठक बोलाएका हुन्। पार्टीको नेतृत्व हस्तान्तरणका विषयमा लामो समयदेखि उनीहरूबीच विवाद हुँदै आएको छ। नेकपाका संस्थापक पुष्पलालको ४७ औँ स्मृति दिवसको अवसरमा अध्यक्ष प्रचण्ड र उपमहासचिव शर्माबिच सार्वजनिक रूपमै आरोप–प्रत्यारोप नै चलेको थियो। शर्माले विशेष महाधिवेशन बोलाउन माग गरेका छन्।
बुधबार बसेको पदाधिकारी बैठकले पाँच वटा एजेन्डा तय गरेको छ। पार्टी प्रवक्ता अग्नि सापकोटाले दिएको जानकारीअनुसार बैठकको सुरुमा पार्टी अध्यक्ष प्रचण्डले वर्तमान राजनीति परिस्थितिको बारेमा ब्रिफिङ गर्ने छ। पोखरामा गएर अड्किएको पार्टी अभियानलाई सञ्चालन गर्ने बारे कुरो हुने छ। केन्द्रीय कमिटी बैठकको पनि मिति तय गर्ने छ प्रवक्ता सापकोटाले बताए। सापकोटाले भने,‘पार्टीभित्र आन्तरिक एकता थप मजबुत बनाउन स्थायी कमिटीको बैठकमा छलफल हुने छ।’
प्रचण्ड र प्रभाकरबीचको टकरावले माओवादी पार्टी फुटको संघारमा पुगेको चर्चा छ। त्यसैको सेरोफेरोमा प्रचण्ड हडबढाएर पार्टीको हाईकमाण्डको बैठक बोलाएको चर्चा छ।
गत वर्षको साउनमा बसेको स्थायी समिति बैठकमा उपमहासचिव शर्माले नेतृत्व हस्तान्तरण लगायतका १४ बुँदे प्रस्ताव पेस गरेका थिए। शर्माको प्रस्तावलाई पुसमा बसेको केन्द्रीय समितिले हल गरी कार्यान्वयनमा लैजाने निर्णय गरेको छ। तर, कार्यान्वयन गर्न प्रचण्ड अनिच्छुक देखिएको भन्दै शर्माले असन्तुष्टि जनाएका छन्। शर्माले विगत दुई वर्षदेखि माथिल्लो तहबाटै लगातार पार्टी फुट्छ भन्ने गरिएको प्रचारलाई यति बेला थप मलजल भइरहेको दाबी गरेका छन्।
विशेष महाधिवेशनले पार्टी भित्रको वैचारिक अस्पष्टता, राजनैतिक अन्योलता, सांगठनिक अराजकता,नयाँ पुस्ताको भावना सम्बोधन गर्ने कार्ययोजना तयार पार्ने शर्माको भनाई छ। ‘विगत दुई वर्षदेखि माथिल्लो तहबाटै लगातार पार्टी फुट्छ भन्ने गरिएको प्रचारलाई यतिबेला थप मलजल गर्दै पार्टी कार्यकर्ता र जनतामा भ्रमको खेती गर्नेहरुप्रति सचेत हुन आग्रह गर्दछु।’ फेसबुकमार्फत उनले भने, ‘गत वर्ष सबै प्रदेशहरुमा भएको परामर्श बैठकपश्चात केन्द्रीय समितिको बैठकमा भएको बहस र निर्णय अनुसार आषाढदेखि प्रारम्भ गरेर ६ महिनाभित्र अर्थात मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको सन्दर्भमा अब पार्टीमा एजेण्डा केन्द्रित बहस गरौं। जसले पार्टीको पुनर्गठन, सुदृढ र व्यवस्थित गर्न मद्दत पुग्नेछ।’
प्रज्ञा भवन कमलादीमा २०७८ साल पुस (११–१८)मा सम्पन्न महाधिवेशनले ६ महिनाभित्र विशेष महाधिवेशन बोलाउने निर्णय सर्वसम्मतले पारित भएको थियो। तर महाधिवेशन भएको तीन वर्ष पुरा हुँदा समेत प्रचण्डले विशेष महाधिवेशनको कुनै तयारी गरेका छैनन्। पार्टी निर्माण, विचारको संश्लेषण र विधान अधिवेशनले अनुमोदन गरेको सांगठनिक प्रतिवेदन कार्यान्वयन गर्न विशेष महाधिवेशनमा जानुपर्ने प्रचण्डइत्तर नेताहरुको भनाइ छ।
प्रचण्ड र जनार्दनबीचको अन्तरसंघर्षबारे सोधिएको प्रश्नमा सापकोटाले पदाधिकारी बैठकपश्चात भनेका थिए, ‘आन्तरिक एकतालाई मजबुत बनाउनेबारे हरेक बैठकमा एजेन्डा हुन्छन्। जनार्दनजीको बारेमा आजको बैठकमा चर्चा भएको छैन। बैठक संक्षिप्त भएको छ। स्थायी कमिटी बैठक बस्ने बेलामा यसबारे मैले व्यक्तिगत धारणा दिन वाञ्छनीय हुँदैन।’
Facebook Comment