अनशनरत प्रमुख भट्टराईको जीवनरक्षाका लागि आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईको जीवनरक्षा गर्न आग्रह गरेको छ ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलका अनुसार जैविक विविधता र परम्परागत संस्कृतिको संरक्षण गर्न आवश्यक नीति निर्माणका लागि पहलकदमी गर्न, बाँसको प्रवर्द्धन गर्न, जलवायु परिवर्तनको असर कम गर्ने कार्य गर्न माग गर्दै प्रमुख भट्टराई यही साउन ११ गतेदेखि माइतीघर मण्डलामा अनशन बस्दै आएका छन् ।

उनले गिट्टी क्रसर उद्योगहरू मापदण्डअनुसार सञ्चालन गर्न, खोटाङलाई बाँसको राजधानी घोषणा गर्न, निर्माण व्यवसायीलाई एउटा काम नसकी अर्को निर्माण कार्य गर्न नदिने व्यवस्था मिलाउन, बाँदर तथा अन्य जङ्गली जनावर नियन्त्रणका लागि नीति बनाउनुपर्नेलगायत माग राख्नुभएको छ । अनशन बस्नुभएका प्रमुख भट्टराईको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको प्रति आयोगको ध्यानाकर्षण भएको उल्लेख छ ।

आयोगले उक्त अनशनस्थल माइतीघर तथा वीर अस्पताल पुगी अनुमगन गरेको तथा सो क्रममा अनशनरत भट्टराई, स्वास्थमन्त्री प्रदीप पौडेलका साथै वीर अस्पतालका चिकित्सक र प्रशासकहरूसँग समेत जानकारी लिएको थियो । आयोगले प्रमुख भट्टराईको स्वास्थ्योपचारमा ध्यान दिँदै वार्ताका माध्यमबाट समस्याको समाधान गरी निजको जीवनरक्षा गर्न सरकारसँग आग्रह गरेको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *