इलामका १६ विशिष्ट व्यक्तित्वलाई बधाई तथा सम्मान
काठमाडौं । इलाम विकास समाजले इलामबाट प्रतिनिधित्व गर्दै राष्ट्रिय तहमा योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गरेको छ ।
शनिबार आयोजित एक समारोहका बीच समाजमा आवद्ध व्यक्तित्वको सम्मान गरिएको हो । समाजले विगतकै कार्यक्रमको निरन्तरता स्वरुप इलामबाट राष्ट्रिय स्तरमा योगदान पुर्याउने गरी विभिन्न जिम्मेवारीमा पुगेका व्यक्तित्वलाई सम्मान गरिएको समाजका अध्यक्ष राधेश्याम लेकालीले जानकारी दिए ।
समाजका सल्लाहकार, बौद्धिक व्यक्तित्व, अग्रज, युवा तथा इलामप्रेमीको उपस्थितिमा न्याय, सुरक्षा, प्रशासन, सञ्चार, शिक्षा, स्वास्थ्य, उड्डयन, ऊर्जा तथा वित्तीय क्षेत्रमा समर्पित विशिष्ट व्यक्तित्वलाई बधाई तथा सम्मान प्रदान गरिएको हो ।
कार्यक्रममा इलाम क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित महेश बस्नेत, क्षेत्र नम्बर २ बाट निर्वाचित सुहाङ नेम्वाङ, पुनरावेदन अदालत पाटनका न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेल, नेपाली सेनाका उपरथी जीवन दाहाल, नेपाली सेनाका सहायक रथी मणिकुमार श्रेष्ठ, सशस्त्र प्रहरी बल नेपालका डीआईजी सुरेश श्रेष्ठ, नेपाल वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारी, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितमान शाक्य, राष्ट्रिय परीक्षा बोर्डका सदस्य विष्णु घिमिरे, शिक्षक सेवा आयोगका सदस्य पवित्रा सुवेदी, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. डिल्लीराम पोख्रेल, मनमोहन मेमोरियल स्वास्थ्य विज्ञान संस्थाका क्याम्पस प्रमुख प्रा. डा. धर्मप्रसाद खनाल, पाटन अस्पतालका प्रमुख डा. जनक कोइराला, तिलगंगा आँखा प्रतिष्ठान प्रमुख सञ्चालन अधिकृत पिताम्बर अधिकारी तथा गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय अध्यक्ष अर्जुन भट्टराईलाई बधाई ज्ञापनसहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सम्मान गरिएको छ ।
नयाँ जिम्मेवारीमा रहँदा इलाम र इलामको विकासलाई पनि प्राथमिकतामा राख्न समाजले सम्मानित व्यक्तित्वहरूलाई आग्रह गरेको छ ।
कार्यक्रममा विशेष अतिथिका रुपमा पूर्वमन्त्री केशव थापाले विभिन्न क्षमता भएका इलामेले अब इलामको विकासलाई थप व्यवस्थित गर्न आआफ्नो क्षेत्रबाट भूमिका खेल्नुपर्ने बताए ।
सम्मानित भएका प्रतिनिधि सभा सदस्य महेश बस्नेतले विगतका कमिकमजोरी औल्याउनुको साटो भावी योजनासहित समग्र विकासमा ध्यान दिन आवश्यक रहेको बताए ।
नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले आफूले जिम्मेवारी पाएपछि गरेका कामबारे जानकारी गराउँदै यो स्थानमा आउन इलामका अग्रज र इलामे माटोले पुर्याएको योगदान स्मरण गरे ।
कार्यक्रम सञ्चालनका क्रममा समाजका सचिव तथा गैर सरकारी संस्था महासंघका अध्यक्ष अर्जुन भट्टराईले समाजको विकास गर्न थप योजनाबद्ध काम गर्ने र युवा सहभागिता बढाउने गरी गृहकार्य अघि बढाएको बताए ।
दुई पुस्तक लोकार्पण
कार्यक्रमको विशेष आकर्षणको रूपमा ‘बहुआयामिक व्यक्तित्व: पदमबहादुर देवान’ नामक पुस्तक र प्रा डा धर्मप्रसाद खनालको साखेजुङको बनस्पतिको बारेमा लेखेको किताबको लोकार्पण गरिएको थियो।
कार्यक्रममा इलामेली कलाकार डेनी निरौला, गणेश पराजुली, यशोदा पराजुली तथा द्रोण पराजुलीले सांगीतिक मनोरञ्जन प्रदान गरेका थिए ।
Facebook Comment