वीरगञ्जको घण्टाघरको ट्राफिक व्यवस्थापन अस्तव्यस्त !

वीरगञ्ज (पर्सा) । औद्योगिक तथा व्यापारिक नगरी वीरगञ्ज महानगर क्षेत्रमा पनि ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै आइरहेको छ । अत्यधिक तीनपाङ्गे्र अटोरिक्सा र जभाभावी बाटो काट्ने पैदलयात्रीका कारणले यहाँको ट्राफिक व्यवस्थापनमा दिनानुदिन समस्या थपिँदै आइरहेको छ ।

वीरगञ्जको घण्टाघरचोकमा पैदलयात्रु जुनसुकै ठाउँबाट पनि बाटो काटिरहेको दृश्य सामान्य जस्तै लाग्छन् । पैदलयात्रीलाई सहज रूपमा वारपार गर्न राखिएका जेब्राक्रसको चिह्न मेटिएर देख्न पनि मुस्किल पर्ने गरेको छ । वीरगञ्ज मीनाबजारका सीताराम साह वीरगञ्जको घण्टाघरचोकमा पैदलयात्री बेपर्वाह ढङ्गले सडक वारपार गर्ने बताउँछन् ।

‘घण्टाघर चोकमा त सर्वसाधारण जहाँ मन लाग्यो । त्यहीबाट बाटो काटेको दृश्य सामान्यजस्तै लाग्छ’, उनले भने, ‘जसलाई जहाँबाट बाटो काट्न मन लाग्यो । त्यहीबाट बाटो काट्ने प्रवृत्तिले सवारीचालक हैरानी भोग्दै आइरहेका छन् ।’ साहले वीरगञ्जको घण्टाघरचोक, नयाँ बसपार्कलगायत स्थानमा ट्राफिक व्यवस्थापन चुस्तदुरुस्त बनाउनुपर्ने बताए ।

‘सबैभन्दा पहिला त यहाँ सडकमा पर्याप्त मात्रामा जे्रबाक्रस बनाउन आवश्यक भइसकेको छ’, उनले भने, ‘घण्टाघरमा जडान भएको ट्राफिक लाइटले पनि काम गर्न नसक्दा ट्राफिक व्यवस्थापनमा समस्या थपिरहेको छ ।’ घण्टाघरचोकमा भएको जेब्राक्रसमा पनि बाँस राखिएको छ । जसले पैदलयात्रीलाई आवतजावत गर्न समस्या भइरहेको छ । सोही जेब्राक्रस भएकै ठाउँबाट सवारीसाधन चलाउने भएकाले बाँस राख्नुपरेको ट्राफिक प्रहरी बताउँछन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख लोकराज भट्टले सीमित जनशक्ति र पैदलयात्रीमा जनचेतनाको अभावको कारणले जभाभावी ढङ्गले बाटो काट्ने समस्या रहेको बताए । ‘घण्टाघरचोकमा वरपर रेलिङ नहँुदा पनि जभाभावी बाटो काट्ने सर्वसाधारणलाई नियन्त्रण गर्न मुस्किल परिरहेका छन्’, उनले भने, ‘भएका रोड फर्निचरहरू पनि नियमित रूपमा मर्मतसम्भार नहुँदा समस्या भइरहेको छ ।’

कार्यालयले घण्टाघरचोकमा ट्राफिक व्यवस्थापनको लागि दुई जना र जिल्ला प्रशासन कार्यालय पर्सा जाने मोडतर्फ थप एक गरी जना ट्राफिक प्रहरी खटाउँदै आइरहे पनि ट्राफिक नियमको पालना भने प्रभावकारी रूपमा हुन सकिरहेको छैन । पर्सा जिल्लामा गत आवमा सवारी दुर्घटनामा परेर ४७ जनाको मृत्यु भएको छ । जबकि आव २०८०÷८१ मा भने यहाँ जिल्लाभरिमा ५३ जनाको सवारी दुर्घटनामा परेर मृत्यु भएको छ । वीरगञ्ज महानगर र सडक विभागले पनि यहाँको ट्राफिक लाइट व्यवस्थापन र सञ्चालनमा भने ध्यान दिन सकिरहेको छैन ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख राजकुमार सिलवालले वीरगञ्जको ट्राफिक व्यवस्थापनमा सीमित जनशक्तिको कारणले पनि समस्या भएको बताए । उनले भने, ‘पर्सामा कार्यरत १०–१५ जना प्रहरीको अन्य स्थानमा रवाना भइसकेको छ । सीमित जनशक्तिले पनि काम गर्न समस्या छ । यद्यपि हामीले जहाँजहाँ ट्राफिक व्यवस्थापनमा समस्या देखिएको छ । सो ठाउँको समाधानका लागि आवश्यक कदम अघि बढाउनेछौँ ।’

प्रमुख सिलवालले सडकमा सवारीसाधन गुडाउने ठाउँमा बिहेको टेन्ट लगाउने खालका चुनौती रहेको पनि बताए । ‘ट्राफिक प्रहरीले कारबाही गर्दा पनि विभिन्न खालका गुनासा आउने गरेका छन्’, उनले भने, ‘ट्राफिक व्यवस्थापन ट्राफिक एकलको प्रयासले मात्र समाधान गर्न नसकिने रैछ । अन्य सरोकारवाला निकायले पनि उत्तिकै समन्वय र सहकार्य गरेर अघि बढ्न जरुरी भइसकेको छ ।’ उनले पछिल्लो समय पथलैया क्षेत्रमा ट्राफिक व्यवस्थापनमा सुधार गरेको दाबी गरे ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *