तीव्र गतिमा सवारीसाधन चलाउँदा बढी दुर्घटना
काठमाडौँ । सबैभन्दा बढी दुर्घटना तीव्र गतिमा सवारीसाधन चलाउँदा भएको नेपाल प्रहरीको पछिल्लो विश्लेषणमा देखाइएको छ । पछिल्लो एक महिनाको सवारी दुर्घटनाको अवस्था अध्ययन गर्दा तीव्र गतिका कारण बढी दुर्घटना हुने गरेको पाइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले बताए ।
गएका महिनामा दुई हजार ९२२ सवारी दुर्घटना भएका जनाउँदै उहाँले त्यसमा एक हजार ४५० दुर्घटना तीव्र गतिका कारण भएका बताए । त्यसपछि मापसे गरेर सवारी चलाउँदा दुर्घटना भएको पाइएको छ । बाटो काट्दा, ‘ओभटेक’ गर्दा, लेन मिच्दा पनि दुर्घटना भएको पाइएको प्रहरीले जनाएको छ ।
‘यसरी हुने दुर्घटनामा अधिकांश मोटरसाइकल परेका छन् । जसले गर्दा मोटरसाइकल यात्रा जोखिममा रहेको देखाएको छ, त्यसैले तीव्र गतिमा मोटरसाइकल चलाउनै हुँदैन’, प्रवक्ता घिमिरेले भने ।
नेपाल प्रहरीका अनुसार गत असारमा भएका दुर्घटनाको अध्ययन गर्दा ५६ दशमलव ५७ प्रतिशत मोटरसाइकल दुर्घटनामा परेका छन् । केन्द्रीय प्रवक्ता घिमिरेले ती दुर्घटनामा परेका कुल चार हजार ४२८ गाडीमध्ये दुई हजार ५०५ वटा मोटरसाइकल रहेका जानकारी दिए ।
त्यसपछि जिप÷कार दुर्घटना १७ दशमलव २३ प्रतिशत छन् । ट्रक, ट्याङ्कर छ दशमलव ४६ प्रतिशत र बस चार दशमलव ४३ प्रतिशत दुर्घटनामा परेका छन् । कुल दुई हजार ९२२ वटा दुर्घटनामा ती सवारीसाधन संलग्न रहेका प्रहरीले जनाएको छ ।
ती दुर्घटनामा परेर एक महिनामै २३९ जनाको मृत्यु भएको छ । प्रवक्ता घिमिरेका अनुसार १८६ पुरुष, ३६ महिला र १७ जना बालबालिकाको दुर्घटनामा परेर मृत्यु भएको हो । ती दुर्घटनामा ६२५ जना घाइते भएका उनले जानकारी दिए ।
Facebook Comment