सिटामोल ट्रेलर सार्वजनिक
काठमाडौं । आगामी साउन २३ गते जनैपूर्णिमाको अवसरमा प्रदर्शनमा आउने फिल्म ‘सिटामोल’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार सार्वजनिक फिल्मको ३ मिनेट २० सेकेण्ड लामो ट्रेलरमा हल्का शैलीको कमेडी, सटिक संवाद र सामाजिक व्यङ्ग्यलाई स्थान दिइएको छ ।
ट्रेलरका सुरुका दृश्यहरूमा नेपाली समाजमा देखिने पारिवारिक झमेला, गरिबी, बेरोजगारी र सरकारी लापरवाहीलाई हास्य व्यङ्ग्यको रुपमा प्रस्तुत गरिएको छ । मुख्य पात्रहरू गाउँले परिवेशमा देखिन्छन्, जहाँ मानिसले सामान्य समस्या समाधानका लागि पनि धेरै दुःख पाइरहेका देखिन्छ ।
फिल्ममा सामाजिक सन्देशलाई हास्यरसको माध्यमबाट प्रस्तुत गर्ने प्रयास गरिएको छ, जसले दर्शकलाई हँसाउँदै सोच्न पनि बाध्य पार्ने संकेत ट्रेलरले दिएको छ । पात्रहरूले बोलेका संवाद, तिखा कटाक्ष र सरल तर गम्भीर प्रसंगहरूले ट्रेलरलाई प्रभावशाली बनाएको छ । ट्रेलरमा सौगात मल्ल र बेनिशा हमाल अनुभवी कलाकारको दमदार अभिनय झल्किन्छ । उनीहरूको सहज अभिनयले ट्रेलरलाई अझ आकर्षक बनाएको छ ।
राजबहादुर साने निर्देशित फिल्ममा सौगात मल्ल, बेनिशा हमाल, श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ ।
Facebook Comment