ओकिलीले ल्याए स्वर्ग मेरो
काठमाडौं । ९० को दशकमा ‘मेरी ओकिली’, ‘झ्याबाट हेर’ जस्ता गीतमार्फत नेपाली सांगीतिक क्षेत्रमा लोकप्रियता कमाएका गायक अनिस ‘ओकिली’ सापकोटा गीत–संगीत प्रेमीका लागि नौलो नाम होइनन् । नेपाली–अमेरिकी गायक, संगीतकार र संगीत निर्माता ओकिलीले दुई दशकभन्दा बढी समयदेखि दक्षिण एशियाली र विश्वव्यापी संगीत क्षेत्रमा योगदान पु¥याउँदै आएका छन् । पेशागत रूपमा उनी ‘ओकिली’ नामले चिनिन्छन् ।
यी गीतले नेपाली दर्शकमाझ र विश्वभरि छरिएका नेपाली डायस्पोरामा व्यापक लोकप्रियता पाएका गायक ओकिलीले आफ्नो जन्मदिनमा नयाँ गीत ‘स्वर्ग मेरो’ सार्वजनिक गरेका छन् । अमेरिकामा बसेर पनि नेपाली संगीतलाई निरन्तरता दिँदै आएका उनले यो गीतमा शब्द, संगीत र स्वर आफैँले प्रदान गरेका छन् ।
‘मैले अमेरिकामा पनि नेपाली दाजुभाइरदिदीबहिनीका लागि गीत गाइरहें, कहिल्यै छोडिनँ र निरन्तरता दिइरहेको छु । यसपटक गीत तयार गर्नुका साथै भिडियोमा आफैं प्रस्तुत हुनु मेरो लागि फरक अनुभव रह्यो’, उनले भने ।
उनले लगभग तीन महिनामा यो गीतलाई तयार गरेका हुन् । पप÷सफ्टरक विधामा पर्ने गीतमा उनले मायाको वर्णन गरेका छन् । यसपटक म्युजिक भिडियोमा समेत उनी आफैं प्रस्तुत भएका छन् । गीतमा ओकिलीसँगै एरिशा श्रेष्ठले मोडलिङ गरेकी छन् । गीतको भिडियो गायक तथा संगीतकार जेम्स प्रधानले तयार पारेका हुन्, जसमा छायांकन, सम्पादन, रंग संयोजन र निर्देशन उनकै रहेको छ । अमेरिकाको रमणीय दृश्यमा खिचिएको यो गीतले दर्शकको ध्यान तान्नेमा ओकिली विश्वस्त छन् ।
‘एउटा प्रेमभावको गीत तयार गर्ने इच्छा यसपटक पुरा भएको छ । यो गीतले प्रेमको काल्पनिक संसारमा वर्णन गरेको छ । मेरा अघिल्ला गीतमा अरु नै मोडल छन् तर यसपटक गीतको भाव अनुसार निर्देशक जेम्स दाईले खेल्ने प्रस्ताव राख्नुभएपछि म आफैँ अगाडि आएको हुँ । आफ्नो गीतको भावलाई उतार्न सकेको छु भन्ने विश्वास छ’, ओकिली भने ।
पछिल्लो समय ‘रिदम काठमाडौँ’ नामक गीतिसंग्रह ल्याएका ओकिलीले यसपटक सिङ्गल ट्रयाक ल्याएका छन् । प्रचारप्रसारसँगै तयार गर्न पनि सजिलो हुने भएकाले उनले यसपटक एउटा गीत मात्र लिएर आएको बताए । उक्त गीतलाई जेनरिक्सले एरेन्ज गरेका हुन् । उक्त गीतलाई अनिश ओकिली युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
‘मेरा गीतहरू एकै ठाउँमा भेटिओस भनेर पनि आफ्नै युट्युब च्यानलमार्फत गीत ल्याएको हुँ । मलाई नयाँ रुपमा चिन्नेले पनि मेरो सांगीतिक यात्राको बारेमा उक्त गीतमार्फत केही जानकारी पाउनु हुनेछ’, गायक ओकिलीले भने ।
नेपाली–अमेरिकी संगीतकार ओकिलीले १९९० को दशकमा नेपालमा ‘ओकिली’ ब्यान्डको संस्थापक सदस्यका रूपमा संगीत यात्रा सुरु गरेका थिए । ‘गुलाबी जाडो’, ‘जुनेली रात’, ‘तिम्रो बानी ब हो’, ‘तिमी नै राम्री’ र पछिल्लो ‘सिमला भुवा’ मार्फत उनले विश्वभरका नेपाली दर्शकमाझ पहिचान बनाएका छन् ।
हाल अमेरिकास्थित क्यालिफोर्नियाको स्याक्रामेन्टोमा बस्दै आएका उनी आधुनिक नेपाली पप र भावनात्मक कथावस्तुको मिश्रणमा परिचित छन् । संगीत र संस्कृतिको योगदानका लागि उनले नोबेल पुरस्कार विजेता डा। चार्ल्स टाउन्सद्वारा प्रदान गरिएको ‘युथ अचिभमेन्ट अवार्ड’ प्राप्त गरेका छन् । दुई दशक लामो सांगीतिक यात्रामा उनी निरन्तर नयाँ रचना र उत्पादनमा सक्रिय छन्, जसले उनको छुट्टै पहिचान स्थापित गरेको छ ।
Facebook Comment