फिफा विश्वकपको टिकट सेप्टेम्बरमा खुल्दै
काठमाडौं । फिफा विश्वकप २०२६ का लागि पहिलो चरणका टिकटको आवेदन १० सेप्टेम्बर २०२५ मा खुला हुने भएका छन्।
फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप २०२६ को पहिलो टिकट ड्रका लागि आवेदन प्रक्रिया बुधबार १० सेप्टेम्बर २०२५ बाट सुरु हुने जनाएको हो।
दर्शकले FIFA.com/tickets मा गएर आफ्नो टिकट किन्ने र फिफा आइडी बनाउने प्रक्रियामा सहभागी हुनसक्ने फिफाले जनाएको छ।
फिफा अध्यक्ष जियानी इनफान्टिनोले संयुक्त राज्य अमेरिकामा आयोजित फिफा क्लब विश्वकपको अद्भुत सफलतापछि अब फिफा विश्वकप २०२६ को उत्साह चरमचुलीमा पुगेको बताए।
क्यानडा, मेक्सिको र संयुक्त राज्य अमेरिकाले संयुक्त रूपमा आयोजना गर्न गइरहेको यो प्रतियोगिता अहिलेसम्मकै सबैभन्दा ठुलो र भव्य खेलकुद कार्यक्रम हुने उनले बताए।
२०२६ को फिफा विश्वकप ११ जुन २०२६ मा मेक्सिको सिटीबाट सुरु हुनेछ। अन्तिम खेल १९ जुलाई २०२६ मा न्यूयोर्क न्यू जर्सीमा हुनेछ।
यी सहरले गत आइतबार फिफा क्लब विश्वकपको फाइनल सफलतापूर्वक आयोजना गरेका हुन्।
६.५ मिलियनभन्दा बढी दर्शकको उपस्थिति रहने अपेक्षा गरिएको फिफा विश्वकप २०२६ मा ४८ टिम र १०४ खेलसहित अहिलेसम्मकै सबैभन्दा ठुलो हुने फिफाले जनाएको छ। फिफाले दर्शकलाई अहिले नै योजना बनाएर आफ्नो स्थान सुरक्षित गर्न भनेको छ।
टिकटको अत्यधिक माग हुने भएकाले विभिन्न चरणमा बिक्री गरिने फिफा बताएको छ।
Facebook Comment