विल्सनको मैझारोमा दिया

काठमाडौं । अभिनेता तथा निर्देशक विल्सनविक्रम राई (तक्मेबुढा) को निर्देशनमा बन्ने फिल्म ‘मैझारो’ मा अभिनेत्री दिया पुन अनुबन्धित भएकी छन् । निर्माण पक्षले शनिबार उनलाई औपचारिक रुपमा अनुबन्ध गरेको हो ।

यसअघि अभिनेता धिरज मगर र अभिनेत्री मिरुना मगर फिल्मका लागि अनुबन्धित भइसकेका थिए । अब दिया पनि फिल्ममा मुख्य पात्रका रूपमा जोडिएपछि कलाकारको सूची विस्तार भएको छ । निर्देशक राईले भने,‘कथाले मागेअनुसार दियालाई अनुबन्ध गरेका हौं । अन्य कलाकार पनि छानिँदैछन्।’

‘मैझारो’ मा धिरज, मिरुना र दिया बाहेक अन्य कलाकारको नाम भने सार्वजनिक भइनसकेको निर्माण पक्षले जनाएको छ । केही दिनभित्रै बाँकी कलाकारहरूको टुंगो लाग्ने बताइएको छ । तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्म ‘मैझारो’ पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थमा आधारित कथा बोकेको छ । फिल्मको छायांकन साउन पहिलो साताबाट सुरु हुने छ भने ईलाम र पाँचथरका रमणीय स्थानहरूमा खिचिने छ ।

फिल्ममा संगीत अनमोल गुरुङ र तोरेम्पा हाङ राईले दिनेछन् । गीतहरूमा राजेश पायल राई,अस्मिता अधिकारी,झुमा लिम्बू,अनमोल गुरुङ लगायतको स्वर रहनेछ । छायांकन सौरभ लामाले गर्ने भएका छन् ।

निर्देशक राईका अनुसार ‘मैझारो’ उनका लागि लेखन र निर्देशन दुबैमा डेब्यु प्रोजेक्ट हो । यसअघि तक्मे प्रोडक्सनले हास्य सामग्री र सांगीतिक प्रस्तुति मात्र निर्माण गर्दै आएको थियो । ‘मैझारो’ मार्फत कम्पनीले ठुलो पर्दामा फिचर फिल्ममा पाइला टेक्न लागेको हो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *