खेलाडीले देशको परिचय र प्रतिष्ठालाई माथि उठाउन योगदान गरेका छन् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरुलाई आज सम्मान र पुरस्कार प्रदान गरेका छन्।

प्रधानमन्त्री निवास, बालुवाटारमा युवा तथा खेककुद मन्त्रालयद्वारा आयोजित कार्यक्रममा गत कात्तिक ७ देखि १२ गतेसम्म जापन उसु ताइजी महासङ्घको आयोजनामा जापानमा भएको तेस्रो थाउलो वल्ड कपमा कास्य पदक विजेता विजय सिँजालीलाई नगद रु ६५ लाख पुरस्कार–प्रमाणपत्र प्रदान गरिएको हो।

यस्तै गत फागुन २० देखि २५ गतेसम्म इरानमा भएको छैटौँ एसियन कबड्डी च्याम्पियन (महिला) मा कास्य पदक विजेता खेलाडी मनमति विष्टसहितलाई रु एक लाख ५० हजारका दरले पुरस्कार दिइएको छ । यस्तै गत असोज २० देखि २६ गतेसम्म श्रीलङ्का भलिबल सङ्घको आयोजनामा श्रीलङ्कमा भएको काभा यु–२० पुरुष भलिबल च्याम्पियनसिपमा रजत पदक विजेता अर्जुन नेपालीसहितलाई रु तीन लाखका दरले पुरस्कार दिइएको छ । उनीहरुलाई राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को व्ववस्थाबमोजिम यही असार ९ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णयबाट सम्मान तथा नगद पुरस्कार दिइएको हो ।

साथै यही असार ८ देखि २१ गतेसम्म मलेसियामा भएको एसिसी यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा सिङ्गापुरलाई हराएर उपाधि जित्न सफल विपिनप्रसाद शर्मासहितको टोलीलाई प्रधानमन्त्री ओलीले बधाई तथा स्वागत गरे।

कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूहरुले खेल क्षेत्रको विकासका लागि प्राथमिकताका साथ काम गरिरहेको बताए। ओलीले एकै पटक सबैले दक्षता, सीप र सफलता हासिल नहुने बताउँदै क्रमशः सफलता हासिल हुँदै जाने विश्वास व्यक्त गरे।

‘हामीले संगठितरुपले खेल क्षेत्रलाई अगाडि बढाएको धेरै भएको छैन । अहिले सरकारले खेलको विकासका लागि उच्च ध्यान दिएको छ भने अब खेलाडीहरु व्यवसायिकरुपमा अगाडि बढेका छन् ।’, प्रधानमन्त्री ओलीले भने, ‘म देशको परिचय र प्रतिष्ठालाई माथि उठाउन योगदान दिने खेलाडी, प्रशिक्षकलगायरुलाई धेरै धेरै धन्यवाद र बधाई दिन्छु।’

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले आगामी आर्थिक वर्षका लागि यस वर्षको भन्दा करिब दोब्बर बजेट विनियोजन गरेको र कीर्तिपुर क्रिकेट मैदान निर्माण सम्पन्न हुन लागेकाले खेल क्षेत्र उत्साहित भएको बताए ।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *