अमेरिकाका २० सहरमा अस्मिता र महेशका गीत

काठमाडौं । गायिका अस्मिता अधिकारी र गायक महेश काफलेको संयुक्त साङ्गीतिक कार्यक्रम ‘सोलफुल युएसए यात्रा’ घोषणा भएको छ। उक्त साङ्गीतिक टुर सन् २०२५ को अगस्टदेखि अक्टोबरसम्म संयुक्त राज्य अमेरिकाका २० भन्दा बढी विभिन्न सहरहरूमा आयोजना हुनेछ । मङ्गलवार आयोजित पत्रकार भेटघाटमा उक्त जानकारी दिइएको हो ।

ओनेस्ट रियल इस्टेटद्वारा प्रस्तुत र थ्री ई इन्टरटेन्मेन्टद्वारा व्यवस्थापन गरिएको यो यात्रा कोलम्बस, ओहायो, मियामी, फ्लोरिडा, ब्रानफोर्ड, कनेक्टिकट, एशबर्न, भर्जिनिया, ल्यान्कास्टर, पेन्सिलभेनिया लगायतका २० भन्दा बढी अमेरिकी सहरहरूसम्म पुग्नेछ । महेश र अस्मिताको अमेरिकाको विभिन्न सहरहरूमा राम्रो डिमान्ड भएकाले पनि यो साङ्गीतिक यात्राको आयोजना गरिएको थ्री ई इन्टरटेन्मेन्टका नेपाल प्रतिनिधि अन्जान बुढाथोकीले जानकारी गराए ।

महेश र अस्मिताले पनि आफुहरु यो साङ्गीतिक टुरको लागि निकै नै उत्साहित रहेको बताए । अमेरिकामा रहेका नेपाली समुदायहरु माझ नजिक पुगेर गीत सुनाउने मौका रहेको भन्दै उनीहरुले खुसी व्यक्त गरे । महेश र अस्मिताको ‘लजावती झार’, ‘नाच फिरिरि’ र ‘लाइटरले बिडी सल्केको’ जस्ता गीतहरू हिट छन्।

थ्री ई इन्टरटेन्मेन्टले धेरै ठुला कन्सर्ट, टुर र सांस्कृतिक कार्यक्रमहरू सफलतापूर्वक आयोजना गर्दै आएको छ। थ्रीईले यस अघि आनी छोइङ डोल्मा, अभया एण्ड द स्टिम इन्जिन्स, काली प्रसाद बाँस्कोटा , इन्दिरा जोशी, प्रमोद खरेल र अञ्जु पन्तलगायतका नेपाली कलाकारहरूको अमेरिका टुर गराई सकेको छ। साथै १९७४ एडीको लाइभ कन्सर्टसहित थुप्रै अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरू पनि आयोजना गरेको छ।

थ्री ईले सन् २०२२ देखि भर्जिनियामा ‘डिटिफेस्ट – दसैँ तिहार फेस्ट’ नामक बृहत् सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस्तै, सन् २०१२, २०१३ र २०१७ मा “ग्लोबल नेपाल फेस्ट” आयोजना गरेर नेपाली संस्कृति, पर्यटन र व्यापारलाई अमेरिकामा चिनाउने ऐतिहासिक पहल गरिएको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *