जनै हराएको मान्छेः सम्बन्धका धागाहरुको नयाँ पोस्टर

काठमाडौं । फिल्म ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’को पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले काठमाडौंसहित देशका आठवटा सहरबाट एक साथ पोस्टर सार्वजनिक गरेको हो ।

काठमाडौं, झापा, धरान, इटहरी, विराटनगर, वीरगञ्ज, बुटवल र नेपालगञ्जबाट दिउँसो साढे ३ बजे एक साथ पोस्टर सार्वजनिक गरिएको थियो । ‘देशभर एकसाथ फिल्मको प्रचारप्रसार होस् र फिल्मलाई लिएर दर्शकमा उत्सुकता सिर्जना होस् भनेर देशभरका ठूला सहरमा बेलुन उडाएर पोस्टर सार्वजनिक गरेका हौँ, फिल्मका निर्माता विमल न्यौपानेले भने ।

निर्माण टिमले दुईवटा पोस्टर एकसाथ सार्वजनिक गरेको छ । राकेश दहालले डिजाइन गरेको एउटा पोस्टरमा विजय बरालसँगै केकी अधिकारी र मिरुना मगर छन् ।

अर्को पोस्टरमा केकी अधिकारी छिन् । दुईवटै पोस्टरले फिल्मको कथा अर्थात् सम्बन्धको परिबन्धमा बाँधिएको यथार्थलाई देखाएको छ । एउटा पोस्टरमा छेउछउमा केकी र मिरुना छन् । बीचमा विजय छन् । केकी र मिरुनाले समाएको धागोलाई बीचमा विजयले समाएका छन् । मिरुना बेहुलीको भेषमा छिन् । विजय केकीको निलो कलर मिरुनाको रातो कलरको बीचमा आधाआधा छन् ।

अर्को पोस्टरमा केकी छिन्, जो धागोहरूले बाँधिएको अवस्थामा छिन् । उनको हात पहेँलो, निलो र रातो रंगको धागाले बाँधिएको छ । पोस्टरमा लेखिएको छ, ‘जति पीडा भए पनि कहिले ऐया नभन्ने मेरी दिदी’ ।
हिमाल न्यौपानेको निर्देशन रहेको फिल्म भदौ ६ गते रिलिज हुँदैछ । फिल्मको असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् । फिल्ममा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, आरुस भुसाल, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ ।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।

थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको फिल्ममा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ ।

फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको सिनेमामा तर्कराज न्यौपाने, रविन्द्र नेपाल, मोनिका थापा र आकाश के।सी सहायक निर्देशक रहेका छन् । चलचित्रका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन् । गोविन्द शाहीको काफिया फिल्मसले वितरणको जिम्मा लिएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *