युवामा लगानी बढाउन तथा युवामैत्री शासन प्रवर्द्धन गर्न जोड

काठमाडौं । युवामा लगानी बढाउन र युवामैत्री शासन प्रवर्धन गर्न युवाहरूले जोड दिएका छन् । सहभागीहरूले राष्ट्रिय युवा परिषद्को स्थापनासँगै २०७५ साल चैत्र महिनाको ३० गतेको कार्यकारी बैठकले समग्र विकासलाई सकारात्मक परिणाम दिन तीनै तहका शासन प्रक्रियामा युवाहरूको अर्थपूर्ण संलग्नता आवश्यक प्रणालीमा जोड्न, उनीहरूको अर्थपूर्ण सहभागितालाई सुनिश्चित गर्न तथा नीति कार्यक्रम बजेट र कार्यान्वयन युवाहरूलाई संलग्न गराउन माग गरेका थिए ।

नेपालको संविधान राष्ट्रिय युवा नीति यूथ भिजन दिगो विकास लक्ष्य राष्ट्रका योजनाहरू राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूको कार्यान्वयनलाई जोड दिँदै युवा सहभागिता सुनिश्चित गर्ने उद्देश्यले युवामैत्री शासन प्रणालीको सुरुवात गरिएको कुरा जानकारी गराउँदै युवा मैत्रीमा लगानी गर्न जोड दिएका थिए ।

राष्ट्रिय युवा परिषद् र जागृति बाल तथा युवा सरोकार नेपालको संयुक्त आयोजनामा काठमाडौंमा आयोजित छलफल कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उप-प्राध्यापक डा. दीपेश घिमिरेले स्थानीय सरकारको नीति कार्यक्रम र बजेटमा युवा युवा सहभागिता सुनिश्चित गर्न युवा मैत्री स्थानीय शासन जरुरी रहेको बताए ।

४६ सूचक भएको युवामैत्री शासनमा नीति निर्माण र कार्यान्वयनमा युवा संलग्नता सम्बन्धी १० वटा सूचक युवासँग सरोकारका विषयवस्तुहरू सम्बन्धित २१ वटा सहभागिता र नेतृत्व सम्बन्धी सात वटा विशेष वर्ग तथा समुदायका युवा सम्बन्धी आठ वटा सूचक रहेको बताउँदै विभिन्न मन्त्रालय निकाय र निजी क्षेत्र सबैलाई समेटेर युवामैत्री शासन प्रवर्धन गर्न सकिने बताएका थिए ।

जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेल, अधिकारकर्मी मिना शर्माले कार्यपत्रमाथि टिप्पणी गर्दै मानसिक स्वास्थ्य वैकल्पिक स्याहारबाट हुर्केका युवा डिप्रेसनमा परेका युवा जोखिममा परेका युवाको सन्दर्भमा तथा मानसिक स्वास्थ्य, जलवायु शासन, सामाजिक सुरक्षा र समावेशिताका विषयहरूलाई थप व्यवस्थित गर्न सूचकहरूमा थप सुधार गर्न जरुरी रहेको बताएका थिए ।

कार्यक्रममा युएनडिपीका विनीता कार्की, ब्रिटिस काउन्सिलका केवल श्रेष्ठ, राष्ट्रिय युवा परिषद्का पूर्व सदस्य तिलोत्तम पौडेल, बालमैत्री अभियन्ता अशोक खनालले युवामा लगानी बढाउनु अहिलेको आवश्यकता रहेको भन्दै युवामैत्री लगानीको वातावरण बनाउन आवश्यक रहेको बताएका थिए ।

यसैगरी गाउँपालिका महासंघ विकासका साझेदार संस्था परिषद्का सदस्यहरू सहित ४० भन्दा बढी सहभागी कार्यक्रममा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवामा लगानी बढाउनाले नै मुलुकको समृद्धि हुने बताएका थिए । युवा नीति यूथ भिजन राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुरूप युवामैत्री शासनलाई अगाडि बढाउने कुरामा सबैको साथ र सहयोग जरुरी भएको बताउँदै बस्नेतले सबैलाई सहयोग गर्न र युवामैत्री शासनलाई स्थापित गर्न सहयोग पुर्‍याउन अपिल गरेका थिए ।

परिषद्का प्रशासकीय प्रमुख गेहनाथ गौतमले कार्यक्रमबारे जानकारी दिँदै राष्ट्रिय युवा परिषद्ले युवाहरूको हकहित तथा अधिकारका निम्ति उपलब्ध स्रोतसाधन अनुरूप काम गरेको बताउँदै सबैलाई सहकार्यको निम्ति अनुरोध समेत गरेका थिए । यस्तै चन्द्रा थापाले युवामैत्री शासन प्रवर्धनबाट पालिकाहरूले केही कार्यहरूको सुरुवात गरेकोमा खुसी व्यक्त गर्दै सबै क्षेत्रबीच तालमेल मिलेमा युवामैत्री अभियान अगाडि बढाउन कुनै समस्या नरहेको बताए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *