निजामती विधेयकमा गम्भीर षडयन्त्र भयो, संलग्नले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ: गिरी

काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरीले निजामती विधेयकमा गम्भीर छानबिन समिति गठन हुनुपर्ने माग गरेका छन् । सभामुख देवराज घिमिरेसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै गिरीले निजामती विधेयकमा गम्भीर षडयन्त्र भएकाले जिम्मेवार व्यक्तिलाई कारबाही गर्नुपर्ने र संलग्नले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरे ।

उनले भने, ‘निजामति विधेयक महिनौं लगाएर छानबिन भएको विषयमा हो। राज्य व्यवस्था समितिबाट कुलिङ २ वर्ष कुलिङ पिरियड राख्नुपर्छ भनेर सहमति भयो। त्यहि निर्णयका आधारमा अगाडि बढेको हो। तर, अहिले अचम्मको कुरा के भयो भने कुलिङ पिरियड मुख्यसचिव, सचिव र सहसचिवलाई हकमा लागू नहुने प्रकारले प्रतिवेदन बन्यो। संसदबाट पारित भयो, त्यो गम्भीर षडयन्त्र हो। सार्वभौम संसद र समितिको अपमान हो।’

निजामती विधेयक सांसदले पारित गरेको मस्यौदाभन्दा फरकरुपमा प्रतिनिधिसभाबाट पारित भएपछि सांसदहरुले सभामुखसँग छलफल गरेका छन् ।

अवकाशप्राप्त कर्मचारीलाई पुन: नियुक्ति रोक्न राखिएको दुईवर्षे ‘कुलिङ पिरियड’को व्यवस्था राज्य व्यवस्था समितिबाट सर्वसम्मत पारित भएपनि प्रतिनिधि सभामा सभापति रामहरि खतिवडाले पेश गरेको विधेयकको प्रतिवेदनमा ‘कुलिङ पिरियड’को प्रावधान फरक आएपछि सांसदहरु आक्रोशित बनेका हुन्।

सांसद गिरीले यो विषयमा छानबिन समिति गठन नभएसम्म राज्य व्यवस्था समितिको बैठक बस्ने नदिने उल्लेख गरे।




Leave a Reply

Your email address will not be published. Required fields are marked *