विकास बाेर्डलाई रौनकको व्यंग्य–सम्मान पत्र मेरो, नाम अर्काको कति क्रिएटिभ होला

काठमाडौं । फिल्म ‘कबड्डी कबड्डी’का निर्माता रौनकविक्रम कँडेलले चलचित्र विकास बोर्डप्रति असन्तुष्टी व्यक्त गरेका छन् । बोर्डको २५ औं वार्षिकोत्सवको अवसर पारेर सोमबार राजधानीमा आयोजना गरिएको २५ वर्षका २५ ब्लकबस्टर फिल्मलाई सम्मान गर्ने कार्यक्रममा उनले आफूले निर्माण गरेको फिल्ममा निर्माताको नाम अर्कैको परेको थाहा पाएपछि सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका हुन् ।

कार्यक्रम सञ्चालिका सुगारिका केसीले ‘कबड्डी कबड्डी’को निर्मातामा रौनकको नाम नलिई अन्य निर्माताको नाम लिएपछि रौनक बेखुस भएका हुन् । ‘चलचित्र विकास बोर्डको २५ औँ वार्षिकोत्सवको समारोहमा कार्यक्रम, २०८२ मा आज उपस्थित भइयो । एकदमै ‘विशेष अनुभव’ रह्यो ! हाम्रो एउटा चलचित्र दिमाग खराबबाट सम्मानित भएँ, त्यसका लागि धन्यवाद त दिनैपर्छ,” रौनकले फेसबुकमा लेखेका छन्, “तर अर्को चलचित्र कबड्डी कबड्डी जुन सिनेमा आर्टले निर्माण गरेको हो । र त्यसको निर्माता चाहिँ म होइन रहेछु । आज थाहा पाएँ, स्टेजमा अरुकै नाम उच्चारण गरियो, निर्माण कम्पनी र निर्माता दुवैको ।’

उनले अगाडि लेखेका छन्, ‘२५ वर्षको इतिहासमा यस्तो सत्य विकृति देख्दा त म दङ्ग परेँ । यस्तो ‘क्रिएटिभ’ निर्णय तपाईंहरूको मात्र बसको कुरा हो । शुभकामना छ चलचित्र विकास बोर्ड तपाईंहरूको पारदर्शिता, इमानदारी र सृजनात्मकता साँच्चै २५ वर्षमा नयाँ उचाइमा पुगेको छ । नेपाली सिनेमाको जय होस्, अनि आजको कार्यक्रमको पर्दा पछाडि भएको अद्भूत जादुको पनि ! सम्मान पत्र मेरो, नाम अर्काको कति क्रिएटिभ होला ।’

उनी थप लेख्छन्, ‘अब अर्को पटक हाम्रो फिल्मलाई कसले बनाएको रहेछ । र, निर्माता को हो भनेर हामी तपाईंहरूकै प्रेस रिलिजबाट बुझ्नेछौं, ठीक छ ?’




Leave a Reply

Your email address will not be published. Required fields are marked *