सुदूरपश्चिममा भारी वर्षा, धनगढी डुवानमा
धनगढी । आइतबार अपरान्हदेखि लगातार परेको वर्षाले धनगढी उपमहानगरपालिका डुवानमा परेको छ । धनगढी उपमहानगरपालिका भएर बग्ने मोहना नदी आसपासका गाउँहरू डुबानमा परेका जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
धनगढी उपमहानगरपालिका भएर पूर्वतिर बग्ने मोहना नदीसँग जाडिएका उपमहानगरका वडा नम्बर १, २, ३, ८ र १३ नम्बर वडाका करिब १५० घरहरू डुबानमा परेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।
उपमहानगरपालिकाका अधिकांश बस्तीमा पानी पसेको छ । पाँच परिवारको घरभित्र पानी पसेकाले अन्यत्र सारिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । धनगढी उपमहानगरपालिकाका नगर प्रहरी सोमबार बिहानैदेखि नगरको पानी निकासमा खटिएका मेयर गोपाल हमालका स्वकीय सचिव सुरेन्द्र भट्टले जानकारी दिए ।
उनले नालीहरू खोल्ने काम भइरहेको र पानी जमेको स्थानको निकासमा उपमहानगरको टोली खटिरहेको जानकारी दिए । धनगढीको मुख्य बजार क्षेत्रका केही भागहरू शिवनगर क्षेत्र बढी डुबानमा परेका छन् । कैलालीको धनगढी र गोदावरी नगरपालिकामा मात्रै बढी वर्षा भइरहेको छ ।
पछिल्लो २४ घण्टामा कैलालीमा २१३ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागको अत्तरिया कार्यालयले जनाएको छ । पहाडि जिल्लातिर वर्षा कम भएकाले हरेक वर्ष डुबान हुने कैलालीको पूर्वी क्षेत्रमा भने खासै असर नपरेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
अहिले वर्षा कम भएको र मोहनाको सतह पनि घटिरहेकाले ठूलो विपत भने नआउने अनुमान गरिएको जिल्ला प्रशासन कार्यादलयका सूचन अधिकारी शिवराज जोशीले बताए । उनले डुबानको सम्भावित खतरालाई मध्यनजर गर्दै सुरक्षाकर्मी, उद्धारकर्मी र उद्धार सामाग्री तयारी हालतमा राखिएको बताए ।
Facebook Comment