टेरामक्स घोटला प्रकरण: पूर्वमन्त्री मोहनबहादुर बस्नेतसँग बयान
काठमाडौं । भ्रष्टाचार मुद्दामा मुछिएका निलम्बित कांग्रेस सांसद एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतको विशेष अदालत काठमाडौंमा बयान जारी छ।
न्यायाधीशहरू तेज नारायण सिंह राई,रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा बस्नेतको बयान जारी छ। बयान सकिए आजै थुनछेक बहस हुनेछ। थुनछेक बहस सकिएपछि मुद्दा पुर्पक्षका लागि धरौटीमा छोड्ने कि कारागार पठाउने आदेश आउनेछ।
उनीमाथि नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिद प्रकरणमा अनियमितताको आरोप छ। भ्रष्टाचार मुद्दा दायर भएसँगै उनको सांसद पद निलम्बनमा परेको छ।
गत जेठ १ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस नेता तथा पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। आयोगले‘टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) घोटाला प्रकरणमा संलग्न भएको ठहर गर्दै बस्नेत,दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासमेत गरी १६ जनालाई प्रतिवादी बनाएको छ।
सांसद बस्नेतविरुद्ध ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बराबरको विगो माग गरिएको छ। यसैगरी सोही प्रकरणमा मुछिएका नेपाल दूरसञ्चार प्राधिकरणका तल्कालीन अध्यक्ष दिगम्बर झा,प्राधिकरणका तत्कालीन सदस्य धनराज ज्ञवाली र टीका प्रसाद उप्रेती,तत्कालीन अध्यक्ष पुरुषोत्तम खनाल, प्राधिकरणका निर्देशक विजय कुमार राय,उपनिर्देशक रेवती राय पन्थ, उपनिर्देशक सुरेश बस्नेत, उपनिर्देशक हिरण्य प्रसाद वस्ताकोटी , उपनिर्देशक अच्यु्तानन्द मिश्र, निर्देशक सुरेन्द्रलाल हाडा, निर्देशक दिपेश आचार्य र उपनिर्देशक संदिप अधिकारीविरुद्ध मुद्दा दायर भएको छ।
Facebook Comment