नेपाल र विश्वभर सँगै कोशेढुंगा

काठमाडौं । आगामी भदौ १२ गतेदेखि प्रदर्शन हुने फिल्म ‘कोशेढुंगा’ नेपालसहित ४० भन्दा धेरै देशमा एकसाथ रिलिज हुने भएको छ ।

सर्वकालीन ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलको निर्देशनमा निर्माण भएको यो फिल्म नेपालसँगै अमेरिका, अस्ट्रेलिया, जापान, युके, क्यानडालगायत ४० भन्दा धेरै देशमा प्रदर्शन हुनेछ ।

फिल्म प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेशनलले अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दैछ । सेभेन सिज इन्टरनेशनलले यो फिल्म सो मितिमा देश तथा विदेशमा एकसाथ प्रदर्शनमा आउने निर्माण कम्पनीले जनाएको छ ।

‘हाम्रो फिल्म ४० भन्दा धेरै देशमा एकसाथ रिलिज हुनेछ । अन्य देशमा पनि रिलिजका लागि वितरकहरूसँग कुरा भइरहेको छ,’ निर्देशक पौडेलले भने, ‘रिलिजको समयसम्म अन्य केही देश पनि थपिनेछन् ।’
डायस्पोरामा नेपाली फिल्मकै इतिहासमा पहिलो पटक ‘कोशेढुंगा’ भदौ १२ गते एकसाथ ४० देशका हलहरूमा रिलिज गर्न लागिएको सेभेन सिज इन्टरनेसनलका निर्देशक रमेश ढकालले बताए ।

फिल्मको छायांकन स्याङ्जाको आधिखोला, त्रिवेणी र सिरुवारी क्षेत्रमा गरिएको छ । काठमाडौंमा पनि सेट लगाएर यो फिल्मको छायांकन गरिएको छ । गाउँले सेटअपमा यो सिनेमाले मौलिक कथा पस्किनेछ ।
नरदेवी फिल्मसको प्रस्तुति रहेको फिल्ममा सुरक्षा पन्त, आर्यन सिक्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, हिउवाला गौतम, सरोज खनाल, विशाल पहाडी, दिनेश काफ्ले, लोकमणि सापकोटालगायतको अभिनय रहेको छ ।

फिल्मको निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग छन् । कार्यकारी निर्माता दिनेश खड्का हुन् । बाबु श्रेष्ठको छायांकन रहेको फिल्ममा नहकुल खड्काको सम्पादन, आशिष अविरल र रिदम कँडेलको संगीत छ । फिल्मको कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा हुन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *