चितवन निकुञ्ज सुरक्षाका लागि ‘स्पाई क्यामेरा’ जडान

चितवन । चितवन राष्ट्रिय निकुञ्जले झाडी सम्भावित चोरीसिकारी नियन्त्रणका लागि ‘स्पाई क्यामेरा’ जडान गरेको छ । निकुञ्जको संवेदनशील क्षेत्रमा यो क्यामेरा जडान गरिएको हो ।

निकुञ्जका सूचना अधिकारी अबिनास थापामगरका अनुसार मनसुन सुरु भएसँगै निकुञ्जका हरेक क्षेत्रमा मानवीय रूपमा उपस्थित भएर सुरक्षा दिन कठिन हुने भएकाले क्यामेरा जडान गरिएको हो । सम्भावित घटनालाई मध्यनजर गर्दै स्पाई क्यामेराबाट निगरानी गरिएको छ । हात्तीद्वारा पट्रोलिङ बढाइएको छ ।

निकुञ्ज क्षेत्रको संवेदनशील स्थानमा ३० स्पाई  क्यामेरा जडान गरिएको उहाँले बताउनुभयो । यी क्यामेरा गोप्य रूपमा राखिएको छ । यसबाट निकुञ्जभित्र हुने चोरीसिकारी नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । यस क्यामेराले मानिसको आवतजावतका क्रममा तस्बिर खिचेर राख्ने छ ।

संवेदनशील क्षेत्रमा नेपाली सेनाको गस्ती बढाइएको छ । निकुञ्जको सुरक्षार्थ खटिएको सेनाको टोलीबाहेक विभिन्न गणका ९० सेनाको टोली यहाँ आएर सुरक्षामा खटिएको छ ।  निकुञ्जका कर्मचारी र सुरक्षार्थ खटिएका टोलीको पहुँच नपुगेको ठाउँमा ती टोली परिचालन गरिएको उनले बताए । टोलीले वन्यजन्तु संरक्षणका लागि काम गरिरहेको उहाँको भनाइ छ । यो टोली तीन महिना बस्नेछ ।

मनसुन सक्रिय भएसँगै निकुञ्ज क्षेत्र आसपास बसोबास गर्ने जनता खेतीपातीमा लाग्ने भएकाले यो समयमा चोरीसिकारी बढ्ने जोखिम बढी हुन्छ । चोरीसिकार नियन्त्रण अभियान पनि यो समयमा कम हुने हुँदा वर्षात्को समयमा संरक्षणमा चुनौती थपिने गर्छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *