फिल्म ‘सतिदेवी’ सामाजिक चेतनामूलकः मुख्यमन्त्री कँडेल
कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले राष्ट्रिय चलचित्र अवार्डमा विशेष चलचित्र पुरस्कारबाट पुरस्कृत नारीप्रधान फिल्म ‘सतिदेवी’ सामाजिक चेतनाले भरिएको बताएका छन् ।
प्ले फर चेन्जद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा विशेष प्रदर्शनी तथा कर्णालीका उत्कृष्ट नारी सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले फिल्ममा देखिएको भन्दा कर्णाली धेरै माथि उठेको बताए । समाजमा छोरा पाउने नाममा छोरीले भोग्नुपरेको यथार्थतालाई उजागर गरी निर्माण गरिएको फिल्मले बोलेको कुरा स्वयं निर्माता निर्देशकले पनि व्यवहारमा उतार्नुपर्नेमा उनले जोड दिए ।
मुख्यमन्त्री कँडेलले भने, ‘संविधान, सङ्घीयता र समानुपातिक एवं समावेशिताको मर्म बोकेको नेपालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाले नेपाली समाजको चेतनास्तर विगतभन्दा उचाइमा पुर्याएको छ । यद्यपि परम्परागत सोच र धारणालाई पूर्ण रूपले परिवर्तन गर्न अबको नवपुस्ताले विशेष योगदान दिनुपर्छ । अनिमात्र हरेक समाज शान्त र समृद्ध बन्दछ ।’
प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री विजया बुढाले कर्णालीको कुप्रथा, कुसंस्कार र कुरीति हटाउने ध्येयले निर्माण गरिएको फिल्मले समाजको बिम्ब प्रस्तुत गरेको बताए । उनका अनुसार पुरुषको स्थान र तहमा पुग्न नेपाली महिलाले वर्षौँदेखि साहसका साथै ठूलो त्याग गरेको बताए ।
फिल्म निर्माता तथा निर्देशक लक्ष्मण सुवेदीले नारीका पीडा, वेदना, व्यथा र विवशतालाई समेटेर बनाइएको फिल्म ‘सतिदेवी’लाई दर्शकले अपार माया दिँदा थप केही गर्ने हौसला मिलेको बताए । फिल्मले समाजको वास्तविक यथार्थलाई चित्रद्वारा प्रष्ट्याएको उनको भनाइ थियो । सो अवसरमा विभिन्न क्षेत्रमा योगदान दिएका कर्णालीका नारीहरूलाई सम्मान गरिएको थियो ।
Facebook Comment