महिलालाई उद्यमसँग जोड्न १५ दिने बेकरी बनाउने तालिम प्रदान
काठमाडौं । महिला उद्यमशिलतासँग सम्बन्धित बेकरी बनाउने १५ दिने तालिमको शनिबार एक कार्यक्रमकाबीच समापन गरिएको छ ।
बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय अन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, उद्योग तथा वाणिज्य कार्यालय त्रिपुरेश्वर काठमाडौंको आयोजना तथा सहभागिता मूलक तालिम तथा अनुसन्धान प्रालीको समन्वयमा सञ्चालित तालिममा काठमाडौं महानगर पालिका वडा नम्बर ११ का महिलालाई बेकरी निर्माणको सीप सिकाइएको छ ।
तालिम समापनको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि रहेकी बागमती प्रदेशको सामाजिक विकासमन्त्री हरिप्रभा खड्गी (श्रेष्ठ)ले तालिममा सिकेको सीपलाई आयआर्जनसँग जोड्न आग्रह गरिन ।
महिला दिदी बहिनी अब आर्थिक उत्पादनसँग जोडिनुपर्ने बताउँदै मन्त्री खड्गीले महिलाको हक अधिकार स्थापित गर्न आफू लागि पर्ने बताइन् । उनले विगतमा आफ्नो लागि आफैँ लडेको स्मरण गर्दै अब मागेर जीवन चलाउने नभइ आफ्नो परिवारको आर्थिक भार पनि आफैँ बोक्ने गरी अघि बढ्नुपर्ने बताइन् ।
मन्त्री खड्गीले भनिन्, ‘हामी महिला दिदीबहिनीको जीवन मागेर बितेको छ । पहिले बुबासँग मागियो । बिहे गरेपछि श्रीमानसँग मागियो । बुढेसकालमा छोरासँग माग्नु परेको छ । अब त्यसो होइन । तपाईंहरुले सीप सिक्नु जभयो । अब यो सीपलाई आयआर्जनसँग जोडनुहोस् । एक्लै नसके समूहमा गर्नुहोस् । काठमाडौं महानगरपालिका तथा प्रदेश सरकारले तपाईंहरुले योजनाबद्ध रुपले गर्ने कामलाई सहयोग गर्नेछ ।’
कार्यक्रममा विशिष्ठ अतिथिमा रुपमा रहेकी मंगलादेवी फाउण्डेसनकी अध्यक्ष सिर्जना सिंहले बहुउपयोगी तालिम सिक्ने दिदीबहिनीलाई बधाई दिइन् । उनले भनिन, ‘यो बहु उपयोगी तालिम लिनुभयो । यहाँ सिकेको सीप तपाईंहरूले घर, समाज र व्यवसाय सबैलाई साथ दिने खालको छ । घरमा नानीबाबुलाई खाजा बनाउने, सामाजिक क्षेत्रमा आयोजित काममा पनि हुने अनि व्यवसाय गर्दा पनि उपयोगी हुन्छ। यो सीपलाई तपाईंको जीवन सार्थक बनाउने काममा लगाउनुहोस् मेरो साथ र सहयोग सँधै रहनेछ ।’
समाजमा केही गरौँ भन्ने दिदीबहिनी सबैका लागि सँधै आफ्नो साथ र सहयोग रहने बताउँदै सिंहले आफ्नो घरको ढोका सँधै खुला हुने भएकाले निर्धक्क भन्न सुझाएकी छन् ।
कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष हिरालाल तण्डूकारले सामूहिक योजना बनाएर काम गर्छौ भन्नेलाई काठमाडौं महानगरपालिकाले सहयोग गर्ने बताए । सीप सिक्न चाहनेलाई सिकाउने प्रतिबद्धता जनाउँदै सिकेको सीपलाई उद्योगका रुपमा विकास गर्न सुझाएका छन् ।
सीप सिकेर उत्पादन बढाउन सके बजारको व्यवस्थापन गर्न महानगरले सहयोग गर्ने पनि वडाध्यक्ष तण्डूकारले बताए ।
१५ दिनसम्म बेकरी बनाउन सिकाएका प्रशिक्षक मिलन विष्टले केही गर्छौँ भन्ने जोशका साथ सीप सिकेका दिदीबहिनीले सिकाइलाई उत्पादनसँग जोड्नेमा विश्वस्त रहेको बताए ।
तालिममा सहभागी प्रिया शर्माले सिकेको सीपलाई व्यवहारमा उतार्ने योजनासहित काम गर्ने बताइन ।
वडासदस्य आशा श्रेष्ठ महिलाले सीप सिक्ने र व्यवहारमा उतार्ने बेला आएको बताउँदै त्यसको सुरुवात यही बेकरी तालिमबाट अघि बढाउनुपर्ने बताइन । आधा आकाश ओगटेका महिलाले अब देश हाक्न सक्छु भन्ने विश्वासका साथ काम गर्नुपर्ने बताइन । सिकेको सीपलाई व्यवहारमा उतार्न आँट गर्न आग्रह गर्दै उनले वडाले सक्दो सहयोग गर्ने बताइन ।
महिला उद्यमी अमृता सत्याल अर्यालले अब महिला चुलो चौकोमा मात्र सीमित नभइ उद्यमी बन्न सुझाएकी छन् ।
कार्यक्रमको सहभागिताका लागि सबैलाई धन्यवाद व्यक्त गर्दै सहभागिता मूलक तालिम तथा अनुसन्धान प्रालीकि अध्यक्ष सरिता सापकोटाले महिलाको सहभागितामा सञ्चालन गरिएको तालिम आर्थिक उपार्जनमा उपयोगी हुने विश्वास व्यक्त गरिन् ।
प्रदेश सरकार तथा वडा कार्यालयको सहकार्यमा थप कार्यक्रम सञ्चालन गरिने बताइन ।
कार्यक्रम १५ दिनको तालिममा सीप सिकेपछि तयार पारिएका बेकरी आइटम प्रदर्शनमा राखिएको थियो ।
Facebook Comment