कृषाको फिल्ममा जापानी नायिका रजेल
काठमाडौं । निर्देशक कृषा चौलागाईंको नयाँ फिल्म ‘जहाजैमा’ यतिबेला चर्चामा छ । जापान पुगेर फिल्मका लागि सम्झौता गरेकी कृषा यतिबेला प्रि–प्रोडक्सनमा व्यस्त छिन् ।
यसैबीचमा फिल्ममा जापानी नायिका रजेल इचिमिया अनुबन्ध भएकी छन् । कृषाले जापान पुगेको समयमा रजेलसँगको तस्वीर शेयर गरेपनि उनको बिषयमा केही पनि उल्लेख गरेकी थिइनन् ।
निर्माण टिमले बिहीबार रचेलको फस्टलुक सार्वजनिक गरेको छ । फस्टलुकमा सफा हिउँले भरिएको दृश्य, पारदर्शी छातामुनी उभिएकी रजेलको शालिनता र सुन्दरता छल्किएको छ ।
निर्देशक चौलागाइले यसपटक फिल्ममा जापानकी नायिकालाई नेपाली कथामा मिसाउनु चुनौतीपुर्ण भएपनि रोचक हुने बताइन् । यो फिल्मलाई यूएनए प्रोडक्सनको व्यानरमा उज्ज्वल गुरागाँइले निर्माण गर्दैछन् । फिल्मले नेपाल–जापानको सम्बन्ध, प्रेम, सपना र संघर्षको कथा भन्ने उज्ज्वलको भनाई छ ।
निर्देशक चौलागाइले हाल नायक फाइनल गर्ने प्रक्रियामा नै आफूहरु रहेको बताइन् । रजेल जापनमा सक्रिय रुपमा काम गरिरहेकी नायिका तथा मोडल हुन् । यो फिल्म सन् २०२६ मा रिलिज गर्ने तयारी गरिएको छ ।
Facebook Comment