‘प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणाली जरुरी’
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले देशको समृद्घि, जनआकांक्षाको सम्बोधन र राजनीतिक स्थिरताका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पुनःसंरचनासहित प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्णसमानुपातिक निर्वाचन प्रणाली जरुरी रहेको जनाएको छ ।
सो पार्टीको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकबाट पारित समसामयिक राजनीतिक प्रस्ताव आज सार्वजनिक गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि संविधान संशोधन गर्नुपर्नेमा जोड दिएको छ । बैङ्क तथा वित्तीय संस्थामा थुप्रिएको वित्तलाई उत्पादनसँग जोड्ने गरी बैकिङ तथा वित्तीय क्षेत्रमा सुधारको जरुरी रहेको सो पार्टीले स्पष्ट पारेको छ ।
लामो समयदेखि अल्झिएको विद्यालय शिक्षा विधेयक तत्काल जारी गरी कार्यान्वयन गर्न, शिक्षालाई रोजगारमूलक, उत्पादनमुखी, जीवनोपयोगी बनाउन विद्यमान शिक्षा प्रणालीको सुधार जरुरी रहेको बैठकले निष्कर्ष निकालेको छ ।
बैकिङ्क प्रणालीमा अधिक तरलता रहँदारहँदै उत्पादनशील क्षेत्रमा न्यून ऋण प्रवाह, मिटर ब्याज पीडितका समस्या, लघु वित्त र सहकारी पीडितका समस्या र साना उद्यमी व्यवसायीले झेल्नु परेको समस्या समाधानमा केन्द्रित हुन सरकार समक्ष माग गरेको छ । सुशासन कायम गर्दै भ्रष्टाचारप्रतिको शून्य सहनशीलता अपनाउनसमेत अनुरोध गरिएको छ ।
Facebook Comment