असार १५ भित्र भोजनलिपि स्वादको चौंथो संस्करण

काठमाडौं । नेपाली खाना र सांस्कृतिक चेतनाको समन्वयमा आधारित ‘भोजनलिपि स्वाद’ कार्यक्रमको चौथो संस्करण असार १५ भित्रै राजधानी काठमाडौंमा आयोजना गरिने भएको छ । राष्ट्रिय धान दिवससमेतको अवसर पारेर नयाँ संस्करण गर्न लागेको नेपाली खाना प्रवर्धन अभियानले जनाएको छ । कार्यक्रमको मिति समय र स्थल भने एकदुई दिनभित्रै जानकारी दिने अभियानका संयोजक देवीप्रसाद सापकोटाले बताए ।अभियानले यसअघि तीनवटा संस्करण भव्यरुपमा सम्पन्न गरिसकेको छ । तेस्रो संस्करण यही जेठ १८ गते सम्पन्न गरेको हो ।

भोजनलिपि संस्करणहरु अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सेफ घनश्याम कँडेल र सेफ दुर्गा खड्काको पाककलामा आधारित रही आयोजना हुँदै आएका छन् । पछिल्लो संस्करण काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ। नेपाली स्वाद, संगीत र आध्यात्मिक ऊर्जा मिसिएको यस कार्यक्रमले नेपालको पाक–परम्परालाई नयाँ उचाइमा पुर्‍याएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कार्यक्रमको उद्घाटन गर्दै कृषि पर्यटन र पाककलाको समुचित प्रवर्धनमार्फत नेपालको अर्थतन्त्र बलियो बनाउने अवसरहरू रहेको उल्लेख गरे। उनले नेपाली स्वाद र परिकारले रोजगारी सिर्जना र आर्थिक समृद्धिमा योगदान पुर्या उन सक्ने सम्भावनामा विशेष जोड दिए ।

कार्यक्रममा मोही, मकै, कोदो, फापर, कटहर, सिस्नो, च्याउ, बेलको सर्वत, निउरो, खुवा, पान(लड्डुजस्ता नेपाली मौलिक परिकारहरू प्रस्तुत गरिएका थिए, जसले स्वाद मात्रै होइन, स्वास्थ्य र सन्देश पनि बोकेको स्पष्ट देखिन्थ्यो। माछा, हाँस, खसी, कुखुराका परिकारहरूका साथसाथै, आयुर्वेदिक आधारमा शरीरप्रकार अनुसार तयार गरिएका व्यञ्जनले कार्यक्रममा सहभागीहरूलाई गहिरो सांस्कृतिक अनुभूति दिलाए।

भोजनलिपि स्वादका प्रमुख सर्जक सेफ घनश्याम कँडेलले नेपाली खानालाई केवल स्वादको सवाल नभई आत्मिक उपचारको माध्यमको रूपमा विश्वसामु प्रस्तुत गर्दै आएका छन्। ‘आजको संसार स्वादसँगै जीवन खोजिरहेको छ। नेपाली खाना केवल पेट भर्ने साधन होइन — यो औषधि, स्मृति र भक्ति हो,’ सेफ कँडेलले भने ।

नेपालको आयुर्वेद, वैदिक परम्परा, र बौद्ध साधनामा आधारित पाकशैलीलाई जीवनशैलीका रूपमा आत्मसात गर्दै, सेफ कँडेल र सेफ खड्काले भोजनलिपि पुस्तकमार्फत नेपाली खानाको उपचारात्मक र आध्यात्मिक दृष्टिकोणलाई उजागर गरिरहेका छन्। ‘भोजनलिपि’ केवल कुकबुक होइन, सजगता, दिगोपन, र आत्मीयतामा आधारित जीवनशैलीको घोषणा(पत्र हो।

सेफ कँडेलले हालै ‘टिमुर’ नामक पाककला सम्बन्धि पुस्तक प्रकाशन गरिसकेका छन्, र सेफ दुर्गा खड्कासँगको सहलेखनमा ‘भोजनलिपि’ प्रकाशनको तयारीमा छ। उनले नेपाल तथा विदेशमा ४० भन्दा बढी रेस्टुराँहरूमा सयौं सेफहरूलाई तालिम दिइसकेका छन् ।सेफ कँडेल पुस्तक लेखन र भोजलिपी कार्यक्रममार्फत हजारौं व्यक्तिलाई पाककलाको ज्ञान बाँड्ने अभियानमा छन् । हस्पिटालिटी क्षेत्रमा महत्वपूर्ण योगदान पुर्या उँदै आएका छन् ।

भोजनलिपि स्वादअभियान अन्तर्गत सेफ कँडेलको टोलीले सातै प्रदेश तथा मुख्य सहरहरुमा नेपाली खानाको चेतनासँगै अध्यात्म र संस्कृति मिसिएको पाक–अनुभवको सन्देश लिएर जाँदैछ। आयुर्वेदिक उपचारात्मक भोजन, परम्परा र प्रविधिको मिश्रणमा आधारित खाना कक्षा र सांस्कृतिक पाककथाहरू यस अभियानका विशेषता हुन्।

यसपटकको भोजनलिपि स्वाद कार्यक्रममा नेपाली पाककला क्षेत्रका दिग्गज सेफहरू जस्तै गोविन्द नरसिंह केसी, गणेश ढकाल, लक्ष्मण भण्डारी, शिवहरि घिमिरे लगायत नयाँ पुस्ताका सेफ पूर्ण श्रेष्ठ, अजुवी चाम्लिङ, इङ्वा सुब्बा आदिको सहभागिताले कार्यक्रमलाई थप ज्ञानमूलक र प्रेरणादायी बनाएको थियो।

भोजनलिपि स्वाद अभियानले आगामी दिनमा देश तथा विदेशमा १०० संस्करणसम्म विस्तार गर्ने योजना बनाएको छ। यस अभियानमार्फत नेपाली स्वाद, संस्कार र साधनाको गहिराइलाई विश्व समुदायसम्म पुर्‍याउने उद्देश्य राखिएको छ।

सेफ घनश्याम कँडेलको नेतृत्वमा सञ्चालित भोजनलिपि स्वाद कार्यक्रमले केवल खानालाई होइन, सम्पूर्ण जीवनशैलीलाई पुनः परिभाषित गर्दै नेपाललाई स्वस्थकर खानाको विश्व राजधानीबनाउने दिशातर्फ सार्थक पाइला चालेको छ। उनको अभियान खाना पकाउने कर्मलाई भक्ति, सेवा र ज्ञानको पवित्र प्रक्रिया बनाउँदै अगाडि बढिरहेको छ। यो केवल पाक यात्रा होइन(आत्मा र संस्कृतिको पुनर्जागरण पनि हो। अभियानले छोटै समयमा नेपालका किसान, किसान समूह, कृषि उपजका बिक्रेता, हस्पिटालिटी क्षेत्र र उपभोक्ताहरुबाट अघि बढ्ने हौसला प्राप्त गरेको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *