दोस्रो प्रयासमा युद्धपोत प्रक्षेपण सफल भएको उत्तर कोरियाको दाबी

काठमाडौं— उत्तर कोरियाले दोस्रो प्रयासमा युद्धपोत प्रक्षेपण सफल भएको दाबी गरेको छ । झन्डै एक महिनाअघि पहिलो प्रक्षेपण प्रयासका क्रममा डुबेको ५ हजार टन क्षमताको युद्धपोत दोस्रो प्रयासमा सफलतापूर्वक प्रक्षेपण भएको राज्य सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले गएको मे महिनामा युद्धपोतको असफल प्रक्षेपणप्रति आक्रोशित प्रतिक्रिया जनाउँदै छिटो मर्मत गर्न माग गरेका थिए । यस घटनाको सम्बन्धमा तीन शिपयार्ड अधिकारी र एक वरिष्ठ अधिकारी गरी कम्तीमा चार जना पक्राउ परेका छन् ।

राज्य सञ्चालित सञ्चारमाध्यमले जहाज अब पूर्णरूपमा पुनर्थापित भइसकेको बताएका छन् । तर विज्ञहरूले मर्मत साँच्चै पूरा भयो कि भएन भनेर प्रश्न गरिरहेका छन् । किम र उनकी छोरी किम जु एले देशको उत्तरमा रहेको राजिन बन्दरगाहमा प्रक्षेपणको निरीक्षण गरेको उत्तर कोरियाको राज्य समाचार एजेन्सी ‘केसीएनए’ ले जनाएको खबरमा उल्लेख छ ।

यो युद्धपोत उत्तर कोरियाले गएको वर्ष निर्माण गरेको र अप्रिलदेखि प्रक्षेपण गरिएको दुई नयाँ ५ हजार टन क्षमताको विनाशक युद्धपोतमध्ये एक हो ।

यसैबीच किमले आणविक हतियारयुक्त नौसेना विकास गर्ने कामलाई प्राथमिकतामा राखेको छ र आउँदा वर्षमा यस्ता दुई वटा विनाशक युद्धपोत निर्माण गर्ने योजना रहेको बताए ।

केसीएनएका अनुसार किमले युद्धपोतको प्रारम्भिक असफल प्रक्षेपणले उत्तर कोरियाको सैन्य आधुनिकीकरण कार्यक्रमलाई पछाडि नधकेलेको बताएका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *