गुन्द्री र पिरामा बसेर जनताको सेवा
झापा । मेचीनगर नगरपालिका–४ को कार्यालय पुग्दा वडाध्यक्ष अर्जुन कार्कीलाई कुर्सीमा होइन, गुन्द्री र पिरा(पिर्का)मा बसेको देख्न पाइन्छ । निर्वाचित भएदेखि अहिलेसम्म उनले कार्यालयमा रहँदा कुर्सी प्रयोग गरेका छैनन् । ‘म आफू गुन्द्री र पिरामै बस्छु, पाहुनालाई पनि त्यसमै बसाउँछु’, वडाध्यक्ष कार्की भन्छन् । उनले आफ्नो कार्यकक्षमा एउटा पनि कुर्सी राख्नु भएको छैन । ग्रामीण पहिचान झल्काउन र रैथाने संस्कृतिको जगेर्ना गर्न कार्यकक्षलाई गुन्द्री र पिराले सजाउनु परेको उनको आफ्नै तर्क छ ।
विसं २०७९ मा नेकपा (एमाले)बाट वडाध्यक्ष निर्वाचित भएर वडा कार्यालयमा प्रवेश गर्दा पहिलो निर्णय गुन्द्रीमै बसेर गरेका थिए ।
देख्ने र सुन्ने धेरैले ‘वडाध्यक्षको ढर्रा धेरै लामो नटिक्ने’ टिप्पणी गरेका पनि थिए । तर, उनले गुन्द्री र पिरामा बसेर वडाबासीको सेवा गर्ने इच्छालाई गफमा होइन, व्यवहारमा निष्ठापूर्वक पालना गरेर देखाएका छन् । एक वर्षअघि कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की झापाको बाहुनडाँगीदेखि उदयपुरसम्मको ‘हात्तीमैत्री लङमार्च’ उद्घाटनका लागि मेचीनगर–४ को कार्यालय पुग्दा वडाध्यक्ष कार्की परालको गुन्द्रीमा बसेको देखेर अचम्भित भएका थिए ।
वडाध्यक्ष कार्कीले विशिष्ट पाहुनाको रूपमा आएका तत्कालीन मुख्यमन्त्री कार्कीलाई पनि मकैको खोसेलाबाट बनाइएको पिरामा बसाए र भलाकुसारी गरे । मेची नदीको किनारमा लङमार्चको उद्घाटन हुँदासमेत सबै अतिथिलाई मञ्चमा बस्नका लागि पिराको व्यवस्था गरिएको थियो । आखिर वडाध्यक्ष कार्कीले कुर्सीको साटो गुन्द्री र पिरा नै किन रोजे ? वडा कार्यालयमा पहिलोपटक पुग्ने जो कोहीलाई जिज्ञासा लाग्न सक्छ । ‘लोप हुँदै गएका हाम्रा रैथाने संस्कृति र परम्पराको जगेर्ना गर्दै ग्रामीण पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्य हो,’ गुन्द्री र पिराप्रतिको मोहबारे उनी भन्छन्, ‘मेरो कार्यकालभरि यही परम्परा कायम राख्नेछु । कुर्सी र सोफामा बसेर कार्यालय चलाउँदिन । म जनताको सेवा गर्न आएको सेवक हुँ । कुर्सीमा बसेर शासन गर्न आएको होइन ।’
जनताको सेवा गर्न जनप्रतिनिधि भएर चुनिएको हुँदा सुख र सुविधामा आफ्नो ध्यान नगएको उनको तर्क छ । वडाध्यक्ष निर्वाचित हुनु अघिदेखि नै कार्की प्रकृतिप्रेमी, ग्रामीण पर्यटन अभियन्ता र बन्यजन्तु संरक्षण अभियन्ताको रूपमा चिनिएका थिए । अहिले उनी ‘अग्र्यानिक वडाध्यक्ष’को रूपमा परिचित भएका छन् । उनका हरेक कार्यक्रम र योजना अग्र्यानिक छन् । उनको अगुवाइमा वडामा हरेक वर्षको माघ १ गते ‘तरुल महोत्सव’को आयोजना हुन्छ ।
उनले चुनावमा भोट माग्न जाँदा मोटर गाडी होइन, लोप भइसकेको राँगागाडी चढेर चर्चा पाएका थिए । वडामा फूल फुल्ने प्रजातिका एक लाख विरुवा हुर्काउने उनको महत्त्वाकांक्षी योजना छ । उनको विकासे कार्यक्रमको एउटा नाम ‘घरलौरी, तोरीमौरी’ राखेका छन् । भारतबाट हात्तीको बथान नेपाल प्रवेश गर्ने मेची नदीको बगरलाई उनले आकर्षक रूपमा सजाएर ‘प्रकृति पार्क’ बनाएका छन् । हात्तीको प्रतिमा र कलात्मक ढुङ्गे धाराले सजाइएको पार्कमा नेपाल र भारतका पर्यटक आउने गर्छन् । ‘परालको गुन्द्रीमा बसेर वडाबासीको निवेदनमा तोकादेश गर्ने यस्ता अग्र्यानिक वडाध्यक्ष मुलुकको अर्को ठाउँमा पाइन्न,’ मेचीनगर–४ स्थित निरौला कृषि तथा पशुपालन प्रालिका सञ्चालक केवल निरौला भन्छन्, ‘झट्ट सुन्दा र उहाँको कार्यशैली हेर्दा पुरातन जस्तो लाग्छ । तर, यो अग्र्यानिक अभियानले सिङ्गो वडालाई ग्रामीण पर्यटनको उत्कृष्ट थलोको रूपमा चिनाउन मद्दत पुगेको छ । उहाँका हरेक कार्यक्रम पर्यावरणमैत्री छन् ।’
मेचीनगर नगरपालिका–४ को वडा कार्यालय पुग्ने पाहुना उनको कला, संस्कृति र पर्यावरणप्रतिको लगाव देखेर उत्प्रेरित हुने गरेका छन् । आफ्नो कार्यकक्षमा आउने पाहुनालाई उनी बेलचाना (औषधीय गुण भएको बनस्पति) को चिया चखाउँछन् । उनी कार्यालयमा बसेर भुटेको मकै र गुन्द्रुकको अचार खाजाको रूपमा खान्छन् ।
पलेटी कसेर परालको गुन्द्री र पिरामा बसेर साक्षात्कार गर्नुपर्ने वडाध्यक्षको कार्यकक्ष देख्दा सुरुमा आफूलाई आश्चर्य लागेको इलामका पर्यटन अभियन्ता केशवकुमार द्यौरालीले सामाजिक सञ्जालमा लेखेका छन् । ‘उहाँको कार्यकक्षमा सोफा र कुर्सी होलान् भन्ने मेरो सोझो अनुमान थियो,’ वडाध्यक्षको कार्यकक्षमा पहिलोपटक पुग्दाको अनुभव लेख्दै द्यौराली भन्छन्, ‘तर वास्तविकता अर्कै थियो । वडाध्यक्ष त पिरा र गुन्द्रीमा बसेर वडाबासीसँग कुराकानी गरिरहनु भएको थियो । परम्परागत बस्तुबाट निर्मित रैथाने सामानको प्रयोगले स्थानीय उत्पादन र पर्यटकको प्रबर्द्धन भएको पाएँ । स्थानीयले आयआर्जन गर्न पाएका रहेछन् । उहाँको जस्तो सोचले नै अग्र्यानिक समृद्धिको बाटोमा हिँड्न सहयोग पुग्छ ।’
उनको वडाबासी नेपालमै सबैभन्दा बढी हात्ती प्रभावित छन् । साविक बाहुनडाँगीको एउटा हिस्साको रूपमा रहेको उहाँको वडामा हरेक दिन भारतबाट मेची नदी तरेर १०० वटासम्म जंगली हात्ती आउँछन् । दिनभर भारतको जङ्गलमा बसेर राति भएपछि आहाराको खोजीमा नेपाल भित्रिने पहिलो स्थान नै उनको वडा क्षेत्र हो ।
मानव र हात्तीको द्वन्द्वका कारण बिगत तीन दशकमा उनको वडाका दर्जनौँले ज्यान गुमाउनु परेको छ भने करोडौंको धनमाल क्षति भएको छ । तैपनि उनी हात्तीलाई मारेर होइन, सहअस्तित्वका माध्यमबाट द्वन्द्वको अन्त्य गर्न सकिन्छ भन्ने मान्यतामा अडिग छन् । हात्तीसँग भिडेर होइन, सहअस्तित्व र मैत्रीपूर्ण माध्यमबाट मानवीय जनधनको क्षति हुनबाट जोगाउन सकिन्छ भन्ने अवधारणालाई लागू गराउने यस क्षेत्रकै पहिलो अभियन्ताको रूपमा वडाध्यक्ष कार्की चिनिन्छन्
हात्तीले किसानको बालीमा नोक्सानी ग¥यो भने वडाले क्षतिपूर्ति दिने व्यवस्था मिलाएका छन् । हात्तीलाई जिस्काउन, तर्साउन र आतंकित पार्न हुँदैन भन्ने हात्तीमैत्री अवधारणा गाउँमा बुझाउन उनले ठूलो हैरानी खेप्नु परिरहेको छ । यही अवधारणा पालना भएका कारण २०७५ सालयता बाहुनडाँगी क्षेत्रमा हात्तीबाट कुनै मानवीय क्षति भएको छैन । प्रकृतिमैत्री कार्यमा पु¥याएको योगदानको कदर गरेर विश्व वन्यजन्तु कोषले दुई साताअघि उनलाई रु ५० हजार नगद पुरस्कारसहित सम्मानीत गरेको थियो । पुरस्कार वापत प्राप्त रकम उनले हात्ती प्रभावित बासिन्दाको हितमा प्रयोग गर्ने गरी कोषमा प्रदान गरेका छन् ।
बाल्यकाल गाउँमै बिते पनि सामान्य परिवारको कार्की उच्च शिक्षा अध्ययनका लागि काठमाडौँ गएका थिए । काठमाडौँमा छँदा उनले साहित्य, कला र पर्यावरणको गहिरो अध्ययन गरे । उनी कुशल बाँसुरीबादकको रूपमा पनि परिचित छन् । उनका पर्यावरण जागरणसम्बन्धी लेखरचना विभिन्न पत्रपत्रिकासमेतमा प्रकाशित छन् ।
मुलुकमा लोकतन्त्रको स्थापनासँगै काठमाडौँमा उच्च शिक्षा पूरा गरेपछि उनी गाउँको मायाले डो¥याएर युवा उमेरमा बाहुनडाँगी फर्किए । गाउँमा उनले सामाजिक सेवा सुरु गरे । ‘गाउँको त्यसबेलाको अवस्था दयनीय थियो,’ उनी गाउँको पुरानो अवस्थालाई सम्झदै भन्छन्, ‘जङ्गली हात्ती र मान्छेबीच झडप नभएको कुनै दिन हुँदैनथ्यो । युवा पुस्ता सही मार्गनिर्देशन पाउन नसकेर दिग्भ्रमित भइरहेका थिए । आफ्नो गाउँलाई परिवर्तन गर्ने सोचका साथ म जागिर खाने र विदेश जाने सोच त्यागेर गाउँ फर्किएको हुँ ।’
उनको नेतृत्वमा बाहुनडाँगीले नयाँ पहिचान र परिवर्तनको अनुभूति गर्न पाएको छ । उनकै नेतृत्वमा बाहुनडाँगीमा राष्ट्रिय र अन्तरराष्ट्रिय महत्त्वका कार्यक्रम आयोजना भएका छन् । विश्व बैङ्क, विश्व बन्यजन्तु संरक्षण कोष, प्रकृति संरक्षण कोषलगायतका संस्थाले मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि थुप्रै परियोजना बाहुनडाँगीमा ल्याएका छन् । गाउँमा सिंहदरवार पुर्याउने सङ्घीयताको मूल उद्देश्यले मेचीनगर–४ मा मेल खाएको देख्न सकिन्छ । वडाध्यक्ष कार्कीको गुन्द्री र पिराप्रतिको मोहले ‘जनप्रतिनिधि भनेको जनताको सेवक हुन्, शासक होइनन्’ भन्ने भावनात्मक सन्देश प्रवाह गरिरहेको छ ।
Facebook Comment