जनै हराएको मान्छेः सम्बन्धका धागाहरुबारे के भन्छन् निर्देशक हिमाल
काठमाडौं । निर्देशक हिमाल न्यौपाने आफ्नो फिल्म ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरु’ लिएर भदौ ६ गतेबाट दर्शकमाझ आउँदैछन् । उनी फिल्म प्रति निकै आशावादी र उत्साहित छन् ।
उनले फिल्मको घोषणा भिडियोदेखि अहिलेसम्म आइपुग्दा हरेक टिजरले फिल्मको कथालाई प्रस्ट पारेको दाबी गर्छन् । ‘हामी आम नेपालीले भोगेको समस्या हाम्रो फिल्मले देखाउनेछ । भर्खरै आएको गीतले पनि यो प्रष्ट पारेको छ । आमालाई अगाध माया गर्ने छोराले आमालाई खुसी दिन गरेको संघर्ष र पराइको पाइला चालेको देखिन्छ,’ उनी भन्छन् ।
आम निम्न वर्गीय र मध्यमवर्गीय नेपालीले भोगिरहेको समस्या आफ्नो फिल्ममा रहेको निर्देशक न्यौपाने बताउँछन् । आर्थिक रूपमा टकटकिएर झन् सानो भएको छोरोको ठूलो मन फिल्ममा देख्न पाइने उनले बताएका छन् ।
‘रुमानी कल्पनाको संसारभन्दा पनि यथार्थ घटनाहरुको बीचबाट दर्शकलाई यो पटक फिल्म देखाउने रहरले आफूले यो फिल्म बनाएका हौं’, उनी भन्छन् ।
फिल्ममा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय छ ।
हाल पोस्ट प्रोडक्सनमा रहेको फिल्मको छायांकन काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा गरिएको हो । फिल्मको असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् ।
पेपरक्लिपको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । सह–निर्मातामा आरके मानन्धर, रुपेश लामा, सिआर बस्नेत, नारायण तिमिसिना र चुडामणि सिवाकोटी रहेका छन् । थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको फिल्ममा नवीन गुरुङको डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ ।
फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् । दिनेश बहादुर राउत मुख्य सहायक निर्देशक रहेको फिल्ममा तर्कराज न्यौपाने, रविन्द्र नेपाल, मोनिका थापा र आकाश के।सी सहायक निर्देशक रहेका छन् । फिल्मका निर्माण नियन्त्रक लक्ष्मण राज पौडेल हुन् । गोविन्द शाहीको काफिया फिल्मसले वितरणको जिम्मा लिएको छ ।
Facebook Comment