काठमाडौंसहित देशका धेरै स्थानमा पानी पर्‍यो, गर्मीमा केही राहत

काठमाडौं— बुधबार दिउँसो काठमाडौं उपत्यकासहित देशका केही ठाउँमा वर्षा भएको छ। काठमाडौं उपत्यकाभित्र ललितपुरको लेले क्षेत्रमा तुलनात्मक रूपमा अलि धेरै पानी परेको छ ।

त्यस्तै गण्डकी प्रदेशमा कास्कीको लुम्ले, लुम्बिनीको सिक्टा र अमरपुर, सुदूरपश्चिमको सुतारलगायतका क्षेत्रमा पनि पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यीबाहेक अरू ठाउँमा पनि कतै–कतै छिटपुट वर्षा भएको छ ।

मौसमविद् हरिप्रसाद दाहालका अनुसार पानी परेका क्षेत्रमा गर्मीबाट केही राहत भएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा वर्षा गराउने प्रणाली सक्रिय छ । त्यो क्षेत्रका विकसित भएको वर्षा गराउने प्रणाली अहिले पूर्वतर्फ सरिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बाढी पूर्वानुमान महाशाखाले सूचना निकालेर बुधबार दाङ, बाँके, बर्दिया, सल्यान, सुर्खेत, दैलेख र जाजरकोट जिल्ला र आसपास भएर बग्ने खोला तथा नदीहरुमा बाढीको जोखिम रहेको जनाएको छ ।

कोशी प्रदेशमा भित्रिएर शिथिल बनिरहेको मनसुन बुधबार राति वा बिहीबारदेखि सक्रिय भएर पश्चिमतर्फ सर्ने र आइतवारपछि मध्यक्षेत्रबाट पश्चिमतर्फ सर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *