द ब्ल्यू लाइटमा बेनिशा निर्माता

काठमाडौं । फिल्म ‘द ब्ल्यू लाइट’को पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले आइतबार फिल्मको पोस्टर सार्वजनिक गरेको हो ।

पोस्टरमा फिल्मकी मुख्य कलाकारमध्ये एक बेनिशा हमाल छिन् । उनलाई बारमा देखाइएको छ । औंलामा चुरोट च्यापेर बसेकी उनी तनावमा छिन् ।

निलो लाइटको संयोजन रहेको पोस्टरमा उनको गेटअप, अनुहारमा देखिएको तनाव, अगाडी रक्सीको कप र औंलाको चुरोटले उनी बारगर्ल रहेको संकेत गर्छ ।

बेनिशाका भूमिका र फिल्मको कथाबारे बिस्तारै खुलाउँदै जाने निर्माणपक्षले जनाएको छ । गत बिहीबारबाट यो फिल्मको छायांकन सुुरु भइसकेको छ । काठमाडौं उपत्यकाभित्रका विभिन्न स्थानमा खिचिने फिल्मको छायांकन तालिका २० दिनको छ ।

फिल्ममा बलिराम चौहानको डेब्यू निर्देशन छ । चौहान फिल्म ‘बलिदान’को लेखक तथा मुख्य सहायक निर्देशक हुन् । फिल्ममा बेनिशासँगै अर्पण थापा, महेश त्रिपाठी, आयुष्मान देशराज जोशी, बेनिशा हमाल, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी छन् भने बाल कलाकारमा ग्रिसमा कटुवाल र सहारा शर्मा छन् ।

स्काइफल पिक्चर्सको प्रस्तुति रहने फिल्मको को–प्रोडुसर रमन ग्रे छन्। कार्यकारी निर्मातामा भने छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल रहनेछन् । फिल्ममा नरेन्द्रकै छायांकन हुनेछ ।

आकाश उखेडा मुख्य सहायक निर्देशक रहेको फिल्ममा रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् । फिल्म सन् २०२५ मा रिलिज हुनेछ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *