बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति
बाजुरा । शुक्रबार बुढीगङ्गा नगरपालिका–६ बाम्का बजारमा नवदुर्गा होटलमा खाना पकाउने ग्यासको सिलिण्डर पड्किएर आगलागी हुँदा ३५ पसल जलेर नष्ट भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार ग्यासको सिलिण्डर पड्किएर आगलागी हुँदा बाम्का बजारमा रहेका पसल पूरै जलेर सखाप भएका छन् । आगलागीबाट ३५ पसलको क्षतिको विवरण सङ्कलन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिए ।
उनका अनुसार प्रहरीले प्रारम्भिक रुपमा ३५ पसलको क्षतिको विवरण सङ्कलन गरेको उक्त पसलको रु आठ करोड ७७ लाख ६५ हजार क्षति भएको बताए । प्रहरीको तथ्याङ्कअनुसार सबैभन्दा बढी योगनाथ न्यौपानेको किनारा पसलको रु एक करोड ८० लाख क्षति भएको पाइएको छ ।
यसैगरी आगलागीबाट तोयानाथ न्यौपानेको रु एक करोड ५० लाख, छत्र थापाको रु एक करोड ५० लाख र धनबहादुर साउदको रु एक करोड ५० लाख क्षति भएको विवरण प्रहरीले सङ्कलन गरेको प्रहरी निरीक्षक चौधरीले बताए ।
आगलागीबाट दीपक साउद, रामु अयडी, तुल कटुवाल र उद्धव थापाको पसलको क्षतिको मूल्य खुल्न सकेको छैन । आगलागीबाट फेन्सी पसल, मेडिकल, इलेक्ट्रोनिक, पुुस्तक पसल र होटल जलेर नष्ट भएको प्रहरी निरीक्षक चौधरीको भनाइ छ । आगलागीबाट भगतराज गिरीको सु प प्र ०१–००१ प ४६८१ नम्बरको मोटरसाइकल जलेर नष्ट भएको छ ।
शुक्रबार अपराह्न ३ः३० बजे ग्यास सिलिण्डर पड्किएर आगलागी भए पनि स्थानीय तहसँग अग्नी नियन्त्रण दमकल नहुँदा ठूलो क्षति भएको पीडितहरुले गुनासो गरेका छन् ।
‘स्थानीय तहमा दमकल भएको भए बढी क्षति हुनबाट जोगिने थियो’, पीडित छत्र थापाले भने । आगलागीबाट पीडितहरुको तथ्याङ्क सङ्कलन गरी उनीहरुलाई राहत र पुनःस्थापनाका लागि जिल्ला विपद् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले प्रदेश र सङ्घ सरकारसँग पीडितलाई राहत उपलब्ध गराउन माग गर्ने निर्णय गरेको छ ।
शुक्रबार आगलागी भएपछि सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे प्रभावित क्षेत्रमा पुगेको उनको निजी सचिवालयले जनाएको छ । मन्त्री पाण्डेले आगलागीको क्षतिको अनुगमन गर्ने र उनीहरुका गुनासा सुन्ने गरी प्रभावित क्षेत्रमा पुगेको सचिवालयले जानकारी दिएको छ ।
Facebook Comment