घनश्यामको परिवारलाई आर्थिक सहयोग
काठमाडौं । दिवंगत हास्यकलाकार घनश्याम गौतम ‘नक्कली प्रचण्ड’को परिवारलाई चलचित्र विकास बोर्डले आर्थिक सहयोग गरेको छ । चलचित्र विकास बोर्डअन्तर्गत चलचित्रकर्मी कल्याणकारी कोषमार्फत मृत्युसंस्कारमा सहयोग वापत उनको परिवारलाई ५० हजार आर्थिक सहायता प्रदान गरेको हो।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, चलचित्र कल्याणकारी कोषकी संयोजक बसुन्धरा भुषाल, सदस्यहरू एवं चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, तथा कलाकार रविन्द्र खड्काको टोली पशुपति स्थित क्रियापुत्री भवनमा पुगेर सहयोग हस्तान्तरण गरेका हुन्।
यसअघि पनि गौतमको उपचारका क्रममा पनि चलचित्र विकास बोर्डले कल्याणकारी कोषमार्फत एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको थियो। क्यान्सरसँग संघर्षरत गौतमको जेठ १९ गते राति ११ः४५ बजे भक्तपुर ताथलीस्थित क्यान्सर अस्पतालमा निधन भएको थियो।
झापा गौरादहमा जन्मिएर नेपाली हास्य–व्यङ्ग्य क्षेत्रमा ‘नक्कली प्रचण्ड’का रूपमा लोकप्रियता कमाएका गौतम विगत केही वर्षदेखि काठमाडौंको भक्तपुर कटुन्जेमा परिवारसहित बसोबास गर्दै आएका थिए।
चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्र कल्याणकारी कोषमार्फत अप्ठ्यारोमा परेका कलाकार तथा चलचित्रकर्मी वा तिनका परिवारलाई सहयोग पुर्याउने उद्देश्यअनुसार यो राहत प्रदान गरिएको चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसीले बताए ।
Facebook Comment