जनै हराएको मान्छेको सांगीतिक आमा
काठमाडौं । फिल्म ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’को गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘आमा’ गीतमा अर्जुन पोखरेलको शब्द, संगीत र स्वर रहेको छ भने साथमा मनिषा सुनारको पनि आवाज रहेको छ ।
गीतमा विभिन्न आरोह र अबरोह छन् । लयमा रहेको उतारचढावले आइरहेका आम गीतभन्दा केही फरक देखिएको छ । लयमा रहेको भेरिएसनले गीतलाई गहकिलो बनाएको छ ।
गीतले फिल्मको सार बोलेको छ । गीतमा फिल्मको मुख्य कलाकारले घर छोड्दादेखि सहरमा गरेको संघर्ष र खाएको हन्डरसम्म छ ।
इमोस्नल गीतमा आमाको ऋण तिर्न र आँखाको आँसु पुछ्न काठमाडौं आएको बताउँछ । तर, घर छोडेर हिँड्दा सुरुमा जसरी काठमाडौं सहज र सरल होला भन्ने आम मान्छेले सोचेको हुन्छ, काठमाडौं भने ठिक त्यसको विपरीत रहेको गीतले बताउँछ ।
आमालाई सुख दिन्छु भनेर आएको छोराले जब काठमाडौंमा अनेकन हन्डर ठक्कर खान्छ अनि उसलाई अब बाँचेर घर फर्किन्न कि भन्ने झैँ लाग्ने गरेको गीतले समेटेको छ ।
आफूले काठमाडौंमा पैसा कमाउन नसकेपछि समय पनि रोकिदिए हुन्थ्यो भन्ने र बिरामी आमालाई चाँडै नलैजा है भनेर कालसँग बिसाएको बिन्तीले स्रोता तथा दर्शकको मन छुन्छ ।
आमाको आयु बढाउन गरेको आग्रहले मन भावुक बनाउँछ । मान्छे मान्छेजस्ता नरहेको र घर घरजस्ता नरहेको काठमाडौंको यर्थाथ चित्रणले सिनेमाको कथा बोलेको छ ।
फिल्मका असोसियट निर्देशक मनिष राउतका अनुसार यो गीत आफ्नो बाचाको सफलता कुरिरहेका सम्पूर्ण आमा र आमाको खुसी खोज्न सहर पसेका छोरा(छोरीको लागि समर्पित गीत रहेको बताए ।
गीतको फिल्ममा सिनेमाका मुख्य कलाकारहरू विजय बराल, केकी अधिकारी, मिरुना मगर, शुशांक मैनाली, कविता आलेलगायतको अभिनय देख्न सकिन्छ ।
हिमाल न्यौपानेको डेब्यू निर्देशन रहेको फिल्म भदौ ६ गते रिलिज हुँदैछ ।
Facebook Comment