प्रसिद्ध धार्मिकस्थल बेहडाबाबामा गङ्गादशहरा मेला सुरु

कैलाली । धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित बेहडाबाबामा बुधबारदेखि धुमधामका साथ गङ्गादशहरा मेला सुरु भएको छ ।

धार्मिक आस्थाको केन्द्रका रूपमा लिइएको यस मन्दिरमा हरेक वर्ष झैँ यस वर्ष पनि गङ्गादशहरा पर्वका अवसरमा मेलाको आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खेमबहादुर चन्दले जानकारी दिए । पर्वका अवसरमा मन्दिरमा अहिले राति १२ः०० बजे जल चढाएर पूजाअर्चना सुरुआत गर्ने परम्परा छ ।

कैलालीको प्रसिद्ध धार्मिकस्थल मानिने बेहडाबाबामा पूजाआजाका साथै दर्शनका लागि कैलाली, कञ्चनपुरलगायत प्रदेशका विभिन्न स्थानका मानिसहरू यहाँ आउने गर्दछन् । बेहडाबाबा सुदूरपश्चिमको मात्रै नभई देशकै धरोहरका रूपमा परिचित छ । परापूर्वकालमा यहाँ शिवलिङ्ग उत्पत्ति भएपछि मन्दिर स्थापना गरिएको कथन छ ।

यहाँ दर्शन गर्नाले मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ । खासगरी पुत्रलाभदेखि सङ्कटमोचन गर्ने शक्ति बेहडाबाबा मन्दिरमा रहेको विश्वास भक्तजनहरूमा छ । यसैगरी, यहाँ पूजाआजा तथा दर्शन गर्न आउने भक्तालुहरूको सहजताका लागि धनगढी उपमहानगरपालिकाले सडक मर्मत, बत्ती जडानलगायत व्यवस्थापन गरेको व्यवस्थापन समितिले जनाएको छ ।

गङ्गादशहरा पर्वका अवसर पारेर बेहडाबाबा मन्दिरमा पूजाका लागि छिमेकी मुलुक भारतका विभिन्न स्थानबाट समेत हजारौँको सङ्ख्यामा भक्तजनहरू आइसकेका छन् भने केही अझै आउने क्रम जारी छ । यहाँ हरेक वर्ष भारतको लख्खीमपुर, पलिया, पिलिभित, युपी, उत्तराखण्डलगायत विभिन्न क्षेत्रबाट भक्तजन आउने गरेका छन् ।

धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमालले विभिन्न चाहपर्वहरू जस्तै गङ्गादशहरा पनि यहाँको महत्वपूर्ण चाड मानिँदै आएकाले यसको महत्व बुझेर उपमहानगरपालिकाले यही जेठ २२ गते अर्थात् बिहीबार सार्वजनिक बिदासमेत दिएको बताए । उपमहानगरपालिकाले बेहडाबाबामा आउने भक्तजनहरूको सहजताका लागि शिवगङ्गा नदीको छेउबाट मन्दिरसम्म पुग्न निःशुल्क बस सञ्चालन गरिएको नगरप्रमुख हमालले बताए ।

मेलामा यहाँका नेपाली मात्रै नभएर भारतका व्यवसायीहरूले समेत केही दिनअघि नै यहाँ आएर विभिन्न पसल सञ्चालन गरेका छन् । यस्तै, धाममा भक्तजनहरूलाई दर्शन तथा पूजापाठको व्यवस्थापनका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजकले बताएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *