सेन्सर बोर्ड सदस्यमा पत्रकार गिरी नियुक्त
काठमाडौं । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) मा रंग पत्रकार कुबेर गिरी नियुक्त भएका छन् । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयको मन्त्री स्तरिय निर्णयबाट गिरीलाई सदस्य नियुक्ती गरिएको हो ।
गिरीलाई सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बोर्ड सदस्यको नियुक्ति पत्र दिएका हुन् । दुई दशकदेखि रंग पत्रकारितामा सक्रिय गिरी बिभिन्न साप्ताहिक, मासिक, समाचारपत्र, हिमालयन टाइम्स, सौर्य दैनिक र नेपाल टेलिभिजनको चलचित्र समाचार हुँदै पछिल्लो एक दशकदेखि रातोपाटी डटकममा कार्यरत रहेका छन् ।
नेपाल टेलिभिजनका लागि करिब आधा दर्जन टेलिसिरियल, चलचित्र सम्बन्धि कार्यक्रम समेत निर्माण, निर्देशन गरेका गिरीले केही म्युजिक भिडियोको समेत निर्देशन गरेका छन् । गिरी चलचित्र पत्रकार संघका केन्द्रीय उपाध्यक्ष पनि हुन् ।
त्यस्तै गरी अर्को जाँच समिति (सेन्सर बोर्ड) सदस्यमा कलाकार भीमा मैनाली नियुक्त भएकी छन्। दुई दशक लामो फिल्म करिअरमा मैनालीले कलाकार, लेखक र निर्देशक भएर काम गरेकी छन् । उनले चलचित्र विकास बोर्डको अध्यक्ष पदमा समेत आवेदन दिएकी थिइन् । यसअघि समितिको सदस्यमा सम्पन्न श्रेष्ठ नियुक्त भएका छन् ।
Facebook Comment